काठमाडौं । नेपालको संविधानसभाले वि.सं. २०६५ साल ज्येष्ठ १५ गते २४७ वर्षदेखिको राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य गरी नेपालमा गणतन्त्र स्थापना गर्यो । मुलुकमा गणतन्त्र घोषणा भएसँगै तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६५ जेठ २९ गते साँझ नारायणहिटी राजदरबार छाडे । मुलुकमा गणतन्त्र घोषणा भएको १५ वर्ष भइसकेको छ । त्यसैले पनि राजसंस्था एउटा इतिहास बनिसकेको छ । अब फेरि राजसंस्था पुनःस्थापनाको कुरा नउठ्नुपर्ने हो तर मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ’ महाअभियानले राजसंस्था पुनःस्थापना र गणतन्त्र फ्याँक्ने भन्दै आन्दोलन सुरु गरेपछि भने फेरि राजसंस्था पुनःस्थापनाको चर्चा चुलिएको छ ।
राजसंस्था पुनस्थापनाको माग गर्दै आन्दोलन सुरु हुन थालेपछि कांग्रेस, एमाले, माओवादी, नेकपा एकीकृत समाजवादीलगायतका दल एक ठाउँमा उभिएका छन् । यी दलले प्रतिगमनकारीले टाउको उठाउन खोजेको भन्दै सजग हुनुपर्ने बताउन थालेका छन् । ती दलका नेताले पूर्वराजा ज्ञानेन्द्र शाहलाई व्यक्तिगतरुपमा गालीगलौजसमेत गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चेतना नभएका मुर्खहरू राजतन्त्र फर्काउँछु भनेर लागेका टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘चेतना नै नभएका मान्छेहरूले राजतन्त्रको कुरा गर्छन् । काम लाग्ने चिजै रहेनछ भन्दै फालेको राजतन्त्र फर्काउने कुरा गर्दैछन् । एउटा मान्छेको छोरो जन्मिँदै राष्ट्र प्रमुख भएर जन्मिने, अरुको छोराछोरीले मरिमेटेर हुन नपाउने, त्यस्तो अन्यायपूर्ण विचार बोक्नेहरूका पछाडि नेपाली जनता लाग्दैन ।’ मरेको प्रेतका पछाडि नलीखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भन्नु मुर्खता शिवाय केही नभएको भन्दै अध्यक्ष ओलीले राजनीतिकरूपले, वैचारिकरूपले, सैद्धान्तिकरूपले कुनै पनि हिसाबले राजतन्त्र मान्न नसकिने बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको व्यवस्था परिवर्तनको सपना नदेख्न चेतावनी दिएका छन् । उनले भनेका छन्, ‘आजको परिवर्तन साना दुःखले आएको होइन। यो व्यवस्थाका निम्ति हजारौंले रगत बगाएका छन्, हजारौंले जेलनेल भोगेका छन्। लाखौं जनताले संघर्ष गरेका छन्। यो व्यवस्था कसैले उल्टाउन खोज्छ भने त्यो सपना मात्रै हो, तिनीहरूको सपना कहिल्यै पूरा हुँदैन। यस्तो दुस्प्रयास गर्नेहरूले फेरि अर्को मूल्य चुकाउनुपर्नेछ।’
कांग्रेस सभापति शेरबहादुर देउवाले कसैले चाहँदैमा राजतन्त्र नआउने बताएका छन् । देउवाको टिप्पणी छ, ‘पूर्वराजा फर्कने कुरा छैन, संविधानसभाले राजा हटाउने निर्णय गरिसकेको छ, कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन ।’
कांग्रेस महामन्त्री गगन थापा त पूर्वराजा ज्ञानेन्द्र शाहलाई व्यक्तिगत रुपमा गालीगलौजमा उत्रिए । थापाले धर्मको आडमा राजनीति नगर्न पूर्वराजालाई चेतावनी दिएका छन् । उनको भनाई छ, ‘राजा फर्काउनुपर्छ भनेर कोही आउँछ भने कांग्रेसले प्रस्ट भन्ने हो, राजाले पनि जुवाको खालमा गएर च्याँखे दाउ हान्ने होइन, च्याँखे खालमा दाउ नहान्नुस् महाराज, खेल्ने भए खालमा आउनुस् कांग्रेस भिड्न तयार छ । मौका पाउँदाखेरि मन्दिरको मूर्ति बेच्नेहरूले तपाईं र मेरो धर्म बचाइदिन्छ ? तपाईं र मेरो धर्म त्यति कमजोर छ ?’
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान समयमा देखिएका अराजकताको अन्त्य गर्न सबै दल एकजुट हुनुपर्ने बताएका छन् । उनले सहिदहरूको बलिदानी, जनताको कठोर सङ्घर्षबाट स्थापित गणतान्त्रिक व्यवस्थामाथि खतरा पैदा हुन थालेपछि त्यसको प्रतिकार गर्न हामी तयार हुनुपर्ने बताएका छन् ।
मुलुकमा व्यवस्था परिवर्तन भएपनि जनताको अवस्थामा परिवर्तन नआएको भन्दै जनतामा आक्रोश बढेको छ । दैनिक अध्ययन र काम गर्न हजारौं युवा विदेशिने गरेका छन् । त्यस्तै अर्थतन्त्र ओरालोति लागेको विश्लेषण हुँदै आएको छ । यस्तो अवस्थामा मेडिकल व्यवसायी प्रसाईंले व्यवस्था परिवर्तन गरी राजसंस्था पुनःस्थापना र ऋण मिनाहा हुनुपर्ने एजेण्डा लिएर आन्दोलन सुरु गरेपछि यतिबेला उनकै एजेण्डाभित्र नेताहरुले बहस गरिरहेका छन् । किन यस्तो अवस्था आयो त ? व्यवस्था परिवर्तनपछि नेताहरुको मात्र अवस्था परिवर्तन आयो भन्दै प्रश्न उठेको छ ।
पूर्वसभामुख दमननाथ ढुंगाना भन्छन्, ‘संविधानका आधारभूत चरित्रमाथि अघि पनि प्रश्न उठेथ्यो । अहिले संविधानसभाले बनाए पनि आठ वर्षमै प्रश्न उठ्दैछ । हाम्रो देशमा कहिल्यै नसकिने संक्रमणकाल, अस्थिरता, द्वन्द्व–चक्र भनेको यही हो ! ०४७ को संविधान बन्दूकले सिध्यायो। ०७२ को संविधान बचाउन सक्लान् के तिनले ?’
राजनीतिक विश्लेषक डा. सूर्यराज आचार्य राजनीति लयमा नहुँदा अहिलेको अवस्था आएको बताउँछन् । उनी भन्छन्, ‘सामाजिक रुपमा झल्याक–झुलुक देखिए पनि राजनीतिक रुपमा पूर्वराजा शान्त/चुप छन् । आमजनता भने अलिकति आवेगमा छन् । चल्तीको राजनीतिलाई प्रश्न सोध्दैछन् : ‘विकास, सुशासन, रोजगारी र संमृद्धि खै?’ आश गरेका नेताको उत्तर आउँछः ‘पुर्वराजा मुर्तिचोर हुन् !’ समाज भत्केको छ। राजनीति लयमा छैन।’
पूर्वराजदूत निलाम्बर आचार्य भने प्रजातान्त्रिक शक्तिहरुले आचरण सुधार गरी शासनमा लागेका धमिरा हटाउनुपर्ने बताउँछन् । उनको भनाइ छ, मुलुकका प्रजातान्त्रिक शक्तिहरूले आचरण सुधार्नुपर्यो, शासनमा लागेका धमिरा हटाउनुपर्यो, अर्थतन्त्रमा लागेको रोगको उपचार गर्नुपर्यो, भ्रष्टाचारमा शीर्ष व्यक्ति र परिवारको संलग्नताको छानबिन हुनुपर्यो। कानूनको पहुँचभित्र सबैलाई ल्याउनुपर्यो र अक्षमहरूलाई जताततैबाट हटाउनुपर्यो ।’
प्रसाईंको नेतृत्वमा आन्दोलन सुरु भएपछि सरकारले उपत्यकाका कतिपय क्षेत्रमा एक महिनादेखि ६ महिनासम्म निषेधाज्ञा लगाएको छ । यसरी निषेधाज्ञा लगाएको भन्दै सरकारको आलोचना भएको छ । एकजना व्यक्तिले घोषणा गरेको आन्दोलनका कारण सरकार र राजनीतिक दल डराउनुपर्ने अवस्था होइन । तर अहिले एक व्यक्तिले उठाएको एजेण्डालाई लिएर राजनीतिक दलका शीर्ष नेता नै त्यही इतिहास बनेको राजसंस्थाकाबारेमा बहस गरिरहेका छन् । यो १५ वर्षमा आफूले गरेका गल्ती सच्याउने प्रण गरेर एउटा सन्देश दिने कि दलहरु सधैं राजसंस्थाबारेमा बहस गरेर बस्ने ? यो निर्णय गर्ने बेला आएको छ ।
