पोखरामा केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट सुरु

गण्डकी । मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा बिहीबारदेखि पोखरामा ‘केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट’ प्रतियोगिता सुरु भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतियोगिता उद्घाटन गर्दै नेपाल पनि क्रिकेटमा विश्वस्तरमा प्रतिष्पर्धा गर्न सक्ने अवस्थामा पुगेको बताए ।

खेल विकासका लागि पूर्वाधार निर्माणसँगै खेलाडीलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिँदै उनले खेललाई व्यवसायिकरुपमा स्तरोन्नति गर्दै जानुपर्ने बताए ।

एमाले नेतृत्वको सरकारको समयमा दशरथ रङ्गशालादेखि देशका विभिन्न रंगशालाको निर्माण गरेको उनले बताए । मदन भण्डारी फाउन्डेशनले खेलका माध्यमबाट राष्ट्रको गरिमा बढाउन गरेको सुरुवात प्रशंसनीय भएको उनको भनाइ छ ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगितामा सात प्रदेशका सात टिम, विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ र आयोजक मदन भण्डारी एकेडेमीको दुई गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको च्याम्पियन टोलीले  पाँच लाख, सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उपविजेता टोलीलाई  दुई लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार दिइने छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी)को नियमानुसार खेलाइने प्रतियोगितामा ‘म्यान अफ द प्लेयर’ले नगद  ३० हजार, ‘बेस्ट बलर’रु २० हजार, र ‘प्लेयर अफ द म्याच’ हुनेले नगद  पाँच हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।

‘सबैका लागि खेलकुद’ को नारा सहित विसं २०६६ पुस १७ गते एकेडेमीको स्थापना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *