व्यक्तिले घोषणा गरेको आन्दोलन रोक्न सरकारले किन लियो निषेधाज्ञाको सहारा ?

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले घोषणा गरेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियान’को नाममा मंसिर ७ काठमाडौंमा प्रदर्शन हुँदैछ । प्रसाईंले काठमाडौंमा लाखौं मान्छे उतार्ने र व्यवस्था नै परिवर्तन गर्ने घोषणा गरेका छन् । खासमा प्रसाईंले एमाले र त्यसमा पनि अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अनेक लान्छना लगाइरहेका छन् ।

कहिले ओलीको कम्बोडियामा लगानी त कहिले हिन्दू राष्ट्र स्थापनाका लागि आफूलाई अभियान चलाउन ओलीले लगाएको लगायतका आरोप लगाउँदै आएका छन् । पार्टी र पार्टी अध्यक्षविरुद्ध प्रसाईं उत्रिएपछि नेकपा एमालेले पनि मंसिर ७ गते उनलाई काउन्टर दिन प्रदर्शन गर्दैछ । यसरी दुई पक्ष प्रदर्शनमा उत्रिने भएपछि भने सरकारले निषेधाज्ञाको सहारा लिएको छ । सुरुमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्म एक महिनासम्म निषेधाज्ञा लगाएको थियो । तर मंगलबारसम्म आइपुग्दा भने प्रशासनले राष्ट्रपति कार्यालय शीतलनिवास र प्रधानमन्त्री निवास आसपासको क्षेत्रमा पनि निषेधाज्ञा घोषणा गरेको छ ।

अझ अचम्म त के छ भने जिल्ला प्रशासन कार्यालय ललितपुरले त पुल्चोक आसपासका क्षेत्रमा ६ महिनाका लागि निषेधाज्ञा जारी गरेको छ ।

सरकारले निषेधाज्ञा जारी गरेपनि प्रसाईले विभिन्न जिल्लाबाट काठमाडौंमा मान्छे ल्याउन थालेका छन् । मंगलबार राति काठमाडौं आएर बसेका केही महिलाहरुलाई केही युवाले सुतेको ठाउँबाट उठाएको एउटा भिडियो सार्वजनिक भएको छ । प्रसाई पक्षले भने युवा संघका कार्यकर्ताले उनीहरुलाई उठाएको आरोप लगाएको छ । तर युवा संघले त्यसमा आफ्नो संलग्ता नभएको दाबी गरेको छ ।


तर त्यो दृष्य हेरेपछि धेरैले आलोचना गरेका छन् । काठमाडौंमा आन्दोलन गर्न पुगेका सर्वसाधारण महिलालाई ‘व्यवस्थापक्षीय’ युवा कार्यकर्ताले राति सुतेको ठाउँबाट लखेट्ने, सरकार टिकटकपछि सडकमा निषेधित क्षेत्र तन्काएर बस्ने। यस्ता गतिविधि नै खासमा व्यवस्थाबिरोधी हो भन्दै सामाजिक संजालमा विरोध भएको छ ।

कसैले त यस्तो पनि भनेका छन्, ‘छ महिनाको निषेधाज्ञा ! तोड्ने कि सहने ? लोकतन्त्र कि असोजतन्त्र ?’

एक व्यक्तिविरुद्ध एउटा पार्टीको प्रदर्शन अनि राज्य डराएर निषेधाज्ञाको सहारा लिँदैछ । के राज्य एउटा व्यक्तिले घोषणा गरेको आन्दोलन रोक्न यसरी डराएरै निषेधाज्ञा गर्नुपर्ने अवस्थामा पुगेको हो ? एमालेले किन यतिधेरै दुर्गा प्रसाईँलाई महत्व दिएको ? अनि सरकारले किन निषेधाज्ञाकै सहारा लिएको ? के दुर्गा प्रसाईंको आन्दोलनले व्यवस्था नै उल्टिने अवस्था आएको हो र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *