काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले राजनीतिक पार्टीका नेता–कार्यकर्ताहरु गुनासो भन्दा पनि कर्तव्य निर्वाहको जिम्मेवारीबाट निर्देशित हुनुपर्ने बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८०’ को समापन कार्यक्रममा पौडेलले राजनीतिक पार्टीहरुलाई गुनासो गर्ने र आलोचना गरेर उम्कने सुविधा नरहेको बताएका हुन् । उनले नेता–कार्यकर्ताहरु गुनासो भन्दा पनि कर्तव्य निर्वाहको जिम्मेवारीबाट निर्देशित हुनुपर्ने बताए ।
उनले भने, ‘हामीलाई गुनासो र आलोचना गरेर उम्कने सुविधा छैन । हामीसँग राम्रा विचार र दृष्टिकोण छन् भने जनतामाझ जान सक्छौं । जनताले अनुमोदन गरे भने हामीले हाम्रा राम्रा कुरा कार्यान्वयन गर्न सक्छौं । त्यसैले सत्तामा रहेका र प्रतिपक्षमा रहेका कुनै पनि राजनीति दलहरुले गुनासो गरेर कर्तव्य निर्वाह हुँदैन । कर्तव्य निर्वाहको जिम्मेवारीबाट सबै निर्देशित हुनुपर्छ ।’
उनले नेकपा एमाले कर्मक्षेत्रमा खटिरहेको दाबी गर्दै मानवीय सेवाको महाअभियानमा सधैँ र सबै अवस्थामा साथमा रहने प्रतिबद्धतासमेत जनाए ।