काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले चालकको हेलचेक्राईँ र बनेका कानुनसमेत कार्यान्वयन नहुँदा दुर्घटनामा धेरै युवा पिँढीले अकालमा ज्यान गुमाउनुपरेको बताएका छन् ।
विज्ञप्ति जारी गरी सचिव भट्टराईले वर्षेनि तीन हजार जनाको सवारी दुर्घटनामा मृत्यु हुने दरलाई रोक्ने गरी सरोकारवाला निकायहरु लाग्नुपर्ने बताएका हुन् ।
उनले भनेका छन्, ‘धेरैजसो घटना चालकको लापरबाही भएका छन्, केही अन्य कारण पनि छन्, सडकमैत्री कानुन र पूर्वाधार अभावको कारण देशमा ठूलो संख्यामा जनधनको क्षति भएको छ, यसमा युवा समूह ठूलो छ । वर्षेनि ३ हजार जनाको सडक दुर्घटनामा मृत्यु हुने दरलाई रोक्ने गरी सरोकारवाला निकायहरु लाग्नुपर्छ ।’
स्थानीय सरकार, प्रदेश र संघीय सरकारलाई यो कानुन बनाउने विषयमा जोडदार दबाब जरुरी रहेको उनले बताए । दुर्घटना न्युनीकरणका लागि कानुन बनाउनुका साथै अभियानमुलक कार्यक्रमलाई सरोकारवालाहरुले अघि बढाउनुपर्ने उनले सुझाव दिएका छन् ।