मदन पुरस्कार विजेता ओझालाई टीकापुरमा सम्मान

 

टीकापुर । मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, हाम्रो पत्र डटकमलगायतका सङ्घसंस्थाले दोसल्ला र सम्मानपत्रसहित सम्मान गरेका हुन् ।

लेखक ओझाले ऐँठन एउटा युद्ध उपन्यास भएको बताए  ।  ओझाले  ऐँठन उपन्यास महाभारत, विश्व युद्ध र नेपालको सशस्त्र युद्धलाई समेटेर लेखिएकाले यो एउटा युद्ध उपन्यास भएको बताए ।

“मैले युद्धपछि पीडामा रहेकाहरुलाई देखेँ, भेटेँ, उनीहरुको मानसिक अवस्था विचलित भएको पाएँ”, उनले भने, “विश्वकै कुरा गर्दा पनि हतियार, हिंसा र द्वन्द्वमा धेरै खर्च भइरहेको छ । यो लगानी विकासमा गर्न सकेको भए विश्व अर्कै हुन्थ्यो भन्ने मैले महसुस गरेँ । गाउँ गाउँमा गएर पीडामा रहेकाको कथा समेटेको छु ।”

उनले पहिले कथाका लागि तयार गरिएको पाण्डुलिपीलाई अध्यायन गर्दै जाँदा उपन्यास तयार भएको र उपन्यासको पूर्णरुप दिन पाँच वर्ष लागेको बताए । “कष्ठकररुपमा बितेका पाँच वर्ष अहिले राहत महसुस भएको छ”, उनी  भन्छन्, “यसअघि ऐलानी उपन्यास पनि चर्चामा आएको थियो । ऐलानी वादी समुदायका कथा समेटिएको पुस्तक थियो । मेरो त्यो उपन्यास र सोही वर्ष प्रकाशन भएको अर्को उपन्यासविरुद्ध सर्वोच्चमा मुद्दा परेको थियो । इतिहासमा साहित्यिक उपन्यासविरुद्ध पहिलो मुद्दा थियो ।”

टीकापुर बहुमुखी क्याम्पसका सहप्राध्यापक केशरबहादुर कुँवरले ओझाको पुस्तकले पुरस्कार मात्र प्राप्त नभई टीकापुरलाई चिनाउने र पुरस्कृत गर्ने काम गरेको बताए । “टीकापुरका लागि गौरव हो, टीकापुरलाई नै पुरस्कृत गर्नुभएको छ”, कुँवरले भने, “यस्ता सर्जकलाई हौसला दिनुपर्छ ।”

विसं २०७९ को मदन पुरस्कार विजेता ऐँठन उपन्यासका लेखक ओझाको पहिलो कृति एक पाइला आकाशमा गजल सङ्ग्रह २०७० सालमा बजारमा आएको थियो । त्यसपछि २०७४ सालमा ऐलानी उपन्यास बजारमा आएको थियो ।

विसं २०४८ जेठ २ गते अछाम जिल्लाको साविक दर्ना गाविसमा जन्मिनुभएका ओझाको बाल्यकाल टीकापुरमा बित्यो र माध्यमिक तहसम्म शिक्षा पनि टीकापुरबाटै प्राप्त गरे । पछि काठमाडौँ गएर ओझाले आफ्नो लेखनलाई अगाडि बढाउँदै व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *