काठमाडौं । भारतीय टोलीका स्टार ब्याट्सम्यान विराट कोहली आइसिसी एकदिवसीय विश्वकप-२०२३ को सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । आइतबार सम्पन्न विश्वकपमा कोहली ‘प्लेयर अफ दी टुर्नामेन्ट’ घोषित भएका हुन् ।
विराटले विश्वकपमा सर्वाधिक रन बनाएका थिए । उनले विश्वकपको ११ खेलमा ३ शतक र ६ अर्धशतकको मद्दतमा ७ सय ६५ रन बनाएका थिए । उनले नेदरल्यान्ड्सविरुद्ध एक विकेटपनि लिएका थिए । कोहलीको सानदार प्रदर्शनका बाबजुद भारत फाइनल खेलमा अष्ट्रेलियासँग ६ विकेटले पराजित भएको थियो ।
यस्तै न्युजिल्याण्डविरुद्धको सेमिफाइनल खेलमा सतक पूरा गर्दै विराट एकदिवसीय खेलमा सर्वाधिक सतक पूरा गर्ने खेलाडी बनेका थिए । उनले भारतकै सचिन तेन्दुलगरको नाममा रहेको ४९ औं सतकको कीर्तिमान भंग गर्दै ५० औं सतक पूरा गरेका हुन् ।
आइतबार दिउँसो भएको फाइनल खेलमा जितको लागि २ सय ४१ रनको लक्ष्य अष्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेर जित हात पारेको हो । यो अष्ट्रेलियाले छैटौं एकदिवसीय विश्वकप उपाधि जितेको हो । यसअघि अष्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको थियो ।