सूर्य नेपाल गल्फ टुरको नयाँ सिजनमा आठ प्रतियोगिता हुने

काठमाडौ । सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ सोमबारदेखि गोकर्ण गल्फ कोर्समा सुरु हुने भएको छ । आयोजक प्रोफेसनल गल्फर्स एसोसियसन नेपाल (एनपीजीए)ले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ७२ होलको चारदिने प्रतियोगिता सोमबारदेखि सुरु हुने जानकारी दिएको हो ।

सूर्य नेपाल प्रालिद्वारा प्रायोजित नयाँ सिजनमा कुल ६४ लाख ३६ हजार १ सय ५० नगद पुरस्कारको लागि आठ प्रतियोगिता सञ्चालन हुनेछन् । यो सिजनमा ५ प्रतिशतले पुरस्कार राशी वृद्धि गरिएको एनपीजीएका महासचिव दीपक आचार्यले जानकारी दिए ।

३३ प्रोफेसनल गल्फरले कुल ८ लाख ४० हजार नगद पुरस्कारको लागि प्रतिस्पर्धा गर्नेछन्। प्रोफेसनलसँगै ४ एमेच्योर खेलाडीले पनि सहभागिता जनाउनेछन् । दोस्रो दिनको समाप्तीमा उत्कृष्ट २१ प्रोफेसनल खेलाडीले कट बनाउने छन्।

विजेताले १ लाख ४५ हजार प्राप्त गर्दा दोस्रो र तेस्रो हुने खेलाडीले क्रमश ९४ हजार र ७० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै कट बनाउने अन्य प्रोफेसनल गल्फरले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् । सूर्य नेपाल गल्फ टुरको दोस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्ले रोयल नेपाल गल्फ क्लबमा पुस ८ गतेदेखि १० गतेसम्म हुनेछ।  यो प्रतियोगितामा गत सिजनको अर्डर अफ मेरिटको आधारमा १६ खेलाडीले नगद दुई लाख ५० हजारको लागि प्रतिस्पर्धा गर्नेछन् ।

तेस्रो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपन पोखरास्थित हिमालयन गल्फ कोर्समा माघ १० गतेदेखि १३ गतेसम्म हुनेछ। यो प्रतियोगिताको कुल नगद पुरस्कार राशी ८ लाख ४० हजार रहेको छ ।

रोयल नेपाल गल्फ क्लबमा चौथो प्रतियोगिता सूर्य नेपाल काठमाडौँ ओपन माघ २३ गतेदेखि २६ गतेसम्म सञ्चालन हुनेछ। यो प्रतियोगितामा गल्फरहरूले ७ लाख ३ हजार ५ सय नगद पुरस्कारको लागि प्रतिस्पर्धा गर्नेछन् ।

पाँचौ प्रतियोगिता धरानमा हुनेछ। धरान गल्फ क्लबमा हुने सूर्य नेपाल इस्टर्न ओपनमा ८ लाख ४० हजार नगद पुरस्कार रहेको छ। प्रतियोगिता फाल्गुन ९ गतेदेखि १२ गतेसम्म हुनेछ ।

रोयल नेपाल गल्फ क्लबमा हुने सिजनको छैटौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज फाल्गुन २९ देखि चैत दुई गतेसम्म चल्नेछ। जहाँ कुल नगद पुरस्कार ५ लाख ७२ हजार २ सय ५० रहनेछ । सातौं प्रतियोगिता सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप गोकर्ण गल्फ क्लबमा चैत १२ गतेदेखि १५ गतेसम्म हुनेछ। यो प्रतियोगितामा ८ लाख ४० हजार नगद पुरस्कार रहेको छ ।

सिजनको अन्तिम तथा सर्वाधिक नगद पुरस्कार राशीको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप वैशाख ४ गतेदेखि ८ गतेसम्म गोकर्ण गल्फ क्लबमा हुनेछ। जहाँ प्रोफेसनल गल्फरहरूले १५ लाख ५५ हजार ४ सय नगद पुरस्कार राशीको लागि प्रतिस्पर्धा गर्नेछन् । एनपीजीएका अध्यक्ष रविन्द्रमान श्रेष्ठले विगत १७ वर्षदेखि गल्फ टुर सञ्चालन गर्न प्रायोजन गरेकोमा सूर्य नेपाल प्रालिलाई धन्यवाद दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *