समाजमा विद्यमान  विकृति र विसङ्गतिलाई अन्त्य गर्नुपर्छ : अध्यक्ष नेपाल

 

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजमा विद्यमान सबै प्रकारका विकृति र विसङ्गतिलाई अन्त्य गर्दै समतामूलक एवं सुसंस्कृत समाजको निर्माण गर्नुपर्ने बताएका छन् ।

छठ पर्वका अवसरमा  आइतबार शुभकामना व्यक्त  गर्दै  अध्यक्ष नेपालले विभिन्न जनजातिका समुदायले परम्परागतरुपमा मनाउँदै आएको पर्व संस्कृतिको जगेर्नाबाट समाजलाई एकापसमा एकताबद्ध गर्नका साथै सुसंस्कृत तथा सभ्य समाज निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै अध्यक्ष नेपालले सम्पूर्ण पृथ्वीलाई समानरुपमा ताप र प्रकाश दिने सूर्यको आराधना तथा पूजा गरी मनाइने छठ काठमाडौँ उपत्यकालगायत अन्य पहाडी तथा हिमाली जिल्लामासमेत मनाइने गरेको उल्लेख गरे ।

हिमाल, पहाड तराईका जनताको एउटा साझा पर्वका रुपमा विकास भएको छठलगायत पर्वले सामाजिक एकता अभिवृद्धि गरी राष्ट्रिय एकतालाई थप बलिया बनाउने विश्वास व्यक्त गर्दै अध्यक्ष नेपालले  बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा विभिन्न समुदायले आफ्ना मौलिक चाडपर्व सस्ंकृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

यस्ता चाडपर्वले परम्परागत मौलिक संस्कृतिको जगेर्नाले एकआपसमा पारस्पारिक सम्मान, सहिष्णुता, सद्भाव र एकतालाई अझ बलियो हुनेगरी स्थापित गर्ने अध्यक्ष नेपालले उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *