एकदिवसीय विश्वकपको उपाधिको लागि भारत र अष्ट्रेलिया भिड्दै (सम्पूर्ण जानकारीसहित)

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप-२०२३ को फाइनल खेलमा घरेलु टोली भारत र अष्ट्रेलिया भिड्दैछन् । आइतबार अहमेदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने खेल २:१५ बजे शुरु हुनेछ ।

आजको  खेलमा दुवै टोली उपाधि जित्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् ।घरेलु मैदानमा जारी प्रतियोगितामा भारत उच्च लयमा रहेको छ । भारत प्रतियोगिताको एक्लो अपराजित टोली हो । जारी प्रतियोगितामा १० खेल खेलेको भारतले सबै खेल जितेको छ । लिगचरणको सबै ९ खेलमा सतप्रतिशत जित निकाल्दै नकआउट चरणमा प्रवेश गरेको भारतले सेमिफाइनलमा न्युजिल्याण्डलाई ७० रनले हराउँदै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।

एकदिवसीय विश्वकपमा भारतको यो तेस्रो फाइनल हो । यसअघि भारतले १९८३, २००३ र २०११ मा विश्वकपको फाइनल खेलेको थियो । सन् १९८३ मा कपिल देवको कप्तानीमा रहेको भारतले वेस्ट इन्डिजलाई हराउँदै पहिलोपटक विश्वकपको उपाधि जितेको थियो । सन् २००३ मा अफ्रिकामा भएको विश्वकपको फाइनल खेलमा अष्ट्रेलियासँग पराजित हुँदै भारतले उपविजेतामा चित्त बुझाएको थियो । तर सन् २०११ मा घरेलु मैदानमा भएको विश्वकपको फाइनल खेलमा श्रीलंकालाई हराउँदै भारतले दोस्रोपटक उपाधि चुमेको थियो ।

१२ वर्ष अगाडि महेन्द्र सिंह धोनीको कप्तानीमा विश्व च्याम्पियन भएदेखि भारत पछिल्लो दुई संस्करणमा सेमिफाइनलमै रोकिएको थियो । त्यसैले भारतलाई फेरी घरेलु दर्शकमाझ उपाधि जित्ने अवसर रहेको छ । तर उपाधि उचाल्न भारतले सर्वाधिक पाँचपटकको विश्व च्याम्पियन अष्ट्रेलियाको चुनौती पन्छाउनु पर्नेछ ।

जारी विश्वकपको शुरुवाती दुई खेलमा पराजित भएसँगै सोचेअनुरुप शुरुवात गर्न नसकेको अष्ट्रेलियाले त्यसपछि लगातार सात खेल आफ्नो पक्षमा पार्दै तालिकाको तेस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको थियो । अष्ट्रेलियाले सेमिफाईनल खेलमा दक्षिण अफ्रिकालाई ३ विकेटले हराउँदै फाइनलमा भारतसँगको भेट पक्का गरेको थियो । अष्ट्रेलियाको यो एकदिवसीय विश्वकपमा आठौँ फाइनल हो । अष्ट्रेलिया पहिलो संक्सरणको फाइनल खेल्ने टोलीपनि हो । सन् १९७५ मा भएको पहिलो विश्वकपको फाइनल खेलमा वेस्ट इन्डिजसँग पराजित हुँदै उपविजेतामा चित्त बुझाएको अष्ट्रेलियाले उपाधिको लागि १२ वर्षसम्म कुर्नुपर्यो ।

सन् १९८७ मा भारत र पाकिस्तानमा संयुक्त रुपमा आयोजना भएको विश्वकपको फाइनल खेलमा इंग्ल्याण्डलाई हराउँदै पहिलो उपाधि जितेको अष्ट्रेलियाले १९९६ मा श्रीलंकासँग पराजित हुँदै उपविजेतामा चित्त बुझायो । त्यसपछि लगातार तीन संस्करणको उपाधि जित्दै ह्याट्रिक गरेको अष्ट्रेलियाले सन् २०१५ मा घरेलु मैदानमा आयोजना भएको विश्वकपको उपाधि जित्दै विश्व क्रिकेटमा आफ्नो दबदबा कायम गरेको थियो । विश्वकप क्रिकेटमा लगातार तीन उपाधि जित्दै अष्ट्रेलियाले दुर्लभ कीर्तिमान ब?नाएको थियो ।

त्यसैले आइतबारको फाइनल खेल रोमान्चक हुने अनुमान गर्न सकिन्छ । तर विगतलाई पल्टाउने हो भने भारतको अष्ट्रेलियासँगको इतिहास सुखद छैन । पछिल्लो ४३ वर्षमा भारत र अष्ट्रेलियाले एकदिवसीयमा कुल १ सय ५० खेल खेल्दा अष्ट्रेलियाले ८३ खेल जितेको छ भने भारतले मात्र ५७ खेल जित्न सकेको छ । विश्वकपमा पनि दुई टोलीबीच भएको १३ भेटमा ८ खेल अष्ट्रेलियाले आफ्नो पोल्टामा पार्दा भारतले ५ खेल जितेको छ । लिगचरणको खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हराएको थियो । भारत आजपनि सोहि लयलाई निरन्तरता दिन चाहन्छ भने अष्ट्रेलिया उक्त खेलको बदला लिँदै उपाधि उचाल्न चाहन्छ ।

जारी विश्वकपमा भारतका विराट कोहलीले १० खेलबाट सर्वाधिक ७ सय ११ रन बनाएका छन् । यस्तै भारतका कप्तान रोहित शर्माले १० खेलमा ५ सय ५० रन बनाउँदा भारतकै श्रेयस आयरले १० खेलबय ५ सय २६ रन बनाएका छन् । अष्ट्रेलियाका मिट्चेल मार्स ९ खेलबाट ४ सय २६, ग्लेन म्याक्सवेल ८ खेलबाट ३ सय ९८ र भारतका केएल राहुल १० खेलबाट २ सय ८६ रन बनाउँदै सर्वाधिक रन बनाउने सुचीको शीर्ष १५ मा रहेका छन् ।

बलिंङतर्फपनि भारतीय खेलाडीको दबदबा रहेको छ । प्रतियोगितामा मात्र ६ खेल खेलेका भारतका मोहम्मद शामी २३ विकेट लिँदै सुचीको शीर्ष स्थानमा रहेका छन् । उनलाई १० खेलबाट २२ विकेट लिँदै अष्ट्रेलियाका स्पिनर एडम जाम्पाले पछ्याइरहेका छन् । यस्तै भारतका जस्प्रित बुम्राले १० खेलबाट १६ , रविन्द्र जडेजाले समान खेलबाट १६, कुलदिप यादवले १० खेलबाट १५ र अष्ट्रेलियाका जोश हज्लेवुडले समान खेलबाट १४ विकेट लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *