काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले गुन्डाराजलाई प्रोत्साहन गरिरहेको आरोप लगाएका छन् । शनिबार पार्टी कार्यालय च्यासलमा पार्टीको जनसंगठन समन्वय संयन्त्रद्वारा आयोजित विशेष भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार विकास निर्माण र जनचासोका विषयलाई सम्बोधन गर्ने भन्दापनि गुन्डाराजलाई प्रोत्साहन गर्न लागि परेको आरोप लगाएका हुन् ।
उनले सरकारकै गतिविधिका कारण प्रतिक्रियावादीहरु देशभरबाट काठमाडौंमा मान्छे उतार्न लागेको बताए । दुर्गा प्रसाईंले मंसिर ७ गते काठमाडौंमा गर्न लागेको प्रदर्शनप्रति लक्षित गर्दै अध्यक्ष ओलीले काठमाडौंमा मान्छे उतारेर अरु केही नभई फोहोर मात्र हुने बताए ।
उनले जन्मकैद पाएको अपराधीलाई छाडेर सरकारले गुण्डराजलाई प्रोत्साहन दिएको आरोप लगाए । उनले भने, ‘सरकार अपराधीहरुलाई छुट्कारा दिन्छ । अदालतले जन्मकैद गर्छ । तर सरकार भन्छ थुन्नै हुन्न । ज्यान मारिएको मुद्दा दिन जाँदा सरकार लिँदैन । अराजकता मच्चाउन पाउने, न्याय माग्न नपाउने ।’
अध्यक्ष ओलीले सरकारले जाजरकोट भूकम्पपीडितको उद्दारमा भन्दा आफ्नो पार्टीको प्रचारमा ध्यान दिएको आरोपसमेत लगाए । उनले भने, ‘प्रधानमन्त्री गएका होलान् भन्ने सोचेको थिएँ जाजरकोट तर माओवादी अध्यक्ष गएका रहेछन् । माओवादीका मन्त्री, माओवादीको सांसद र माओवादीका नेता खाँदेर हेलिकप्टेरमा गए । अर्को दिन गृहमन्त्री गए । गृहमन्त्री गए भनेको ऊ पनि माओवादीको उपाध्यक्ष गए । राष्ट्रपति गए त्यो पनि त्यस्तै । राष्ट्रपति किन गएको ? उहाँ राष्ट्रपति भएर होइन कांग्रेस छुट्यो भनेर जानुभयो।’
अध्यक्ष ओलीले सरकार संविधान सिध्याउने खेलमा लागेको आरोप लगाए ।