धनगढी । कैलालीको धनगढीमा आज बिहान भएको आगलागीबाट १७ करोड ९७ लाख २० हजार रुपियाँ बराबरको क्षति भएको छ ।
धनगढी उपमहानगरपालिका–१ मा दलबहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोर (जुत्ताचप्पलको होलसेल गोदाम) मा लागेको आगो अरुतिर पनि सल्केको थियो । राति करिब १ बजेतिर विद्युत् सर्ट भएर लागेको आगलागीबाट सो गोदामसहित अस्पताल र अन्य पसलमा क्षति भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट सारथी अस्पताल प्रालिको पाँच करोड ५० लाख, गरिमा पोलिक्लिनिकको ३० लाख, सुविधा इन्टरप्राइजेजको एक करोड ३० लाख रुपियाँ बराबरको मालसामान नष्ट भएको छ । यस्तै, भट्ट सप्लायर्सको ७० लाख, भण्डारी सु सेन्टरको ५० लाख, भण्डारी जनरल स्टोरको चार करोड २५ लाख, मधुमाला कनेक्सनको ६० लाख रुपियाँ बराबरको क्षति भएको छ ।
यसैगरी, सुभिच्छा बेबी सपको ९० लाख, खाद्य व्यापार तथा कम्पनी लिमिटेडको चार करोड रुपियाँ बराबरको गोदामको भौतिक संरचना र गोदाममा कार्यरत कर्मचारीको दुई लाख २० हजार रुपियाँ बराबरको स्कुटर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।
अस्पतालसँगै रहेको खाद्य तथा व्यापार कम्पनी लिमिटेडको भवनमा दलबहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोरमा अचानक विद्युत् चुहावट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदीप चन्दले जानकारी दिए । आगो लागेपछि अस्पतालमा भर्ना भएका बिरामीलाई अन्य अस्पतालमा पठाइएको छ ।
धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र पुनर्वास नगरपालिकाका चारवटा दमकलको सहायतामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको प्रयासमा आगो निभाइएको छ । आगलागीबाट पुगेको क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।