न्युजिल्याण्डलाई पन्छाउँदै भारत विश्वकपको फाइनलमा

एजेन्सी । घरेलु टोली भारत आईसीसी एकदिवसीय विश्वकप-२०२३ को फाइनलमा पुगेको छ । बुधबार दिउँसो भएको पहिलो सेमिफाइनल खेलमा न्युजिल्याण्डलाई ७० रनले हराउँदै भारतले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

जितको लागि ३ सय ९८ रनको विशाल योगफल पछ्याएको न्युजिल्याण्ड ४८.५ ओभरमा अलआउट हुँदै ३ सय २७ रनमा समेटिएको हो । न्युजिल्यान्डको लागि डार्यल मिट्चेलले सतक र कप्तान केन विलियाम्सनले अर्धसतक बनाउँदा अन्य ब्याट्सम्यानले सोहि लयलाई निरन्तरता दिन सकेनन् । मिट्चेलले १ सय १९ बलमा ९ चौका र ७ छक्काको मद्दतमा १ सय ३४ रन बनाए । यस्तै विलियाम्सनले ७३ बलमा ८ चौका र एक छक्काको सहयोगमा  ६९ रन बनाउँदा ग्लेन म्याक्सवेलले ४१ तथा डेभन कन्वे र रचिन रविन्द्रले समान १३-१३ रन बनाए ।

भारतको लागि मोहम्मद शामीले ९.५ ओभरमा ५७ रन दिएर ७ विकेट लिँदा जस्प्रित बुम्रा, मोहम्मद सिराज र कुलदिप यादवले समान एक-एक विकेट लिए ।

यसअघि मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको भारतले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ३ सय ९७ रन बनाएको थियो । भारतको लागि विराट कोहलीले विश्व कीर्तिमानी सतक पुरा गर्दा आयरलेपनि विश्वकपमा लगातार दोस्रो सतक पूरा गरे । विराटले एकदिवसीयमा ५० औं सतक पूरा गरेका हुन् । यसअघि भारतकै सचिन तेन्दुलगरको नाममा रहेको ४९ औं सतकको कीर्तिमान भंग गर्दै विराट एकदिवसीयमा सर्वाधिक सतक पूरा गर्ने खेलाडी बनेका हुन् ।

विराटले १ सय १३ बलमा ९ चौका र दुई छक्काको मद्दतमा १ सय १७ रन बनाउँदा श्रेयस आयरले ७० बलमा १ सय ५ रन बनाए । उनले ८ छक्का र ४ चौका प्रहार गरे । यस्तै शुभ्मन गिलले ८०, कप्तान रोहित शर्माले ४७ र केएल राहुलले ३९ रनको योगदान गरे ।

न्युजिल्याण्डका लागि टिम साउदीले १० ओभरमा १ सय रन दिएर तीन विकेट लिँदा ट्रेन्ट बोल्टले एक विकेट लिए  ।

जितसँगै भारत फाइनलमा पुग्दा न्युजिल्याण्ड प्रतियोगिताबाट बाहिरिएको छ । अब भारतले आइतबार हुने फाइनल खेलमा आज अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *