काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल संवत्ले सम्पूर्ण नेपालीमा सहिष्णुता, मेलमिलाप, भाइचारा, मैत्रीभाव र आपसी सद्भाव बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
नेपालको मौलिक नेपाल संवत्, ११४४ प्रारम्भ भएको उपलक्ष्यमा आज शुभकामना दिँदै उनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।
राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवद्र्धन गरिएको नेपालको यो राष्ट्रिय संवत् चन्दमास गणना गरी तय गर्ने प्रचलन छ । कात्तिक शुक्लपक्ष प्रतिपदाबाट सुरु हुने यो संवत्को पहिलो दिन काठमाडौँ उपत्यकामा नयाँ बही खाताको सुरुवात गर्ने परम्परा रहिआएको थियो ।
“शङ्खधरले काठमाडौँ उपत्यकाका किसान तथा गरिब जनतालाई ऋण एवं दासत्वबाट मुक्त गराई स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्न पाउने अवस्था सिर्जना गर्नुभएकामा उहाप्रति उच्च सम्मान व्यक्त गर्दै हृदयदेखि नै स्मरण गर्न चाहन्छु”, उपराष्ट्रपतिले शुभकामना सन्देशमा भनेका छन् । उनले नेपाल र नेपाली समाजमा शान्ति स्थापना, नेपाली जनताको स्वतन्त्रता र स्वाभिमान बढाउन साख्वाले गरेको योगदानको प्रशंसा गरेका छन् । उनले राष्ट्रिय एकता, भौगोलिक अखण्डता र सार्वभौमसत्तालाई थप प्रगाढ, बलियो र सबल बनाउँदै एकताबद्ध भई मुलुकको विकासको महाअभियानमा दत्तचित्त र एकाग्रताका साथ अघि बढ्न प्रेरणा प्रदान गरोस् भनी कामनासमेत गरेका छन् ।
“शङ्खधरले निःस्वार्थ, लोक कल्याणकारी र परोपकारी भावले समाजको हित, समृद्धि, उन्नति तथा प्रगतिका लागि पुर्याउनु भएको योगदानको उच्च कदर गर्न सक्नुपर्दछ, उहाँले अवलम्बन गर्नुभएको सत्कर्म, सत्मार्ग र सत्यनिष्ठालाई अनुकरण र अनुसरण गर्न नेपाल संवत् ११४४ ले सम्पूर्ण देशवासीलाई उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्दछु”, उपराष्ट्रपति यादवले सन्देशमा भनेका छन् ।