श्रमदानका नाममा आशा लाग्दा नेताको ‘स्टन्टबाजी’

दीपकराज जोशी ।
राजनीति गर्नेले एक क्षणको श्रमदान गरेर लोकप्रियता कमाउने चलन जबसम्म रहन्छ, तबसम्म यो देश बन्दैन। कुनै पनि विकसित मुलुकमा त्यहाँका दूरदर्शी नेताले सस्तो लोकप्रियता कमाउने काम गर्दैनन् । नेताले त यस्तो प्रणाली बनाउनुपर्छ, जसले समस्या समाधानार्थ काम गरोस् । सस्तो लोकप्रियताका लागि श्रमदानको कोकोहोलो मच्चाउनु भनेको कम्युनिष्टहरूले वर्ग संघर्षको अन्त्य भने जस्तै हो । यो नारा लगाइरहँदा उनीहरुलाई यो पनि थाहा छ कि यदि वर्ग रहेन भने कम्युनिष्टहरु पनि रहँदैनन् । त्यस्तै यो देशमा प्रणाली बन्यो भने सस्तो लोकप्रियताको अन्त्य हुन्छ । हाम्रो समाजका नेताहरुको राजनैतिक शुरुवात र अन्त्य सस्तो लोकप्रियता र स्टन्टबाजीमा रुमलिएको छ ।

फेरि यो भनाइलाई लिएर गगन थापाको, रवि लामिछनेको विरोध गर्यो भनेर नलिनु होला। गगन थापा, रवि लामिछाने जस्ता नेताहरुलाई संसदमा श्रमदान गर्न पठाएको होइन । आशा लाग्दा नेता पनि यस्तै स्टन्टबाजीमा रमाउन थाले भने देश की प्रगति होइन दुर्गती भने अवश्य हुन्छ। किनभने यो कोही व्यक्ति विशेषको लागि इङ्गित गर्ने कुरा भन्दा पनि सिङ्गो प्रणाली र सिङ्गो व्यवस्थाको कुरा हो। गगन थापा त केवल एक प्रतिनिधि पात्र मात्रै हुन्। जसलाई संसदमा श्रमदान गर्न पठाएको होइन । अतः यस्तो प्रचारबाजीको पछि नलागेको राम्रो हो। जसको जे काम हो उसले त्यही गर्ने हो भने धेरै हदसम्म समस्या सुल्झिने छन्।

आजसम्म पार्टीका भातृ संगठनमा विपद् व्यवस्थापन भन्ने प्रावधान नै छैन । पार्टीले इच्छा राख्यो भने केन्द्रमा एउटा उच्च संरचना बनाएर लाखौँ युवा परिचालन गर्न सक्छ। स्वयं नेता परिचालित हुनु आवश्यक नै हुँदैन। समाज आज दर्शन भन्दा प्रदर्शनको पछाडि दौडिरहेको छ।
एउटा दिगो इच्छाशक्तिले कार्यान्वयन गर्न समेत सहज हुने तरिकाबाट प्रणाली बनाएर त्यसलाई स्थायित्व कायम गर्न सक्नु नै नेतृत्व तहमा हुनेहरुको दायित्व हो।

हुन त यो देशमा नेता बन्न खोज्नेहरुले गरीब र दलितको घरमा गएर भात खायो भने त्यो पनि समाचार बन्छ । र जनमानसमा त्यो व्यक्ति प्रख्यात हुन्छ । हाइहाइ हुन्छ । उसैको गुणगान गाइन्छ । तर के त्यो खुसी हुने बिषय हो ? वाहवाह गर्नुपर्ने विषय हो ? पक्कै होइन । हामी खुसी तब हुन पर्छ जब त्यो गरीब र दलितले नेता बन्न खोज्नेको घरमा हरेक दिन पाक्ने जस्तो खाना खान पाउँछन् । नेताले बसेको जस्तै घरमा बस्न पाउँछन् । नेताका छोराछोरी पढे सरहको विद्यालयमा आफ्ना छोराछोरी पढाउन पाउँछन् । गर्व के मा गर्ने भन्ने कुरामा त ढुक्क हुनुहोस् । वाहवाही कै पछि कुद्नु पूर्व कम्तिमा यति त सोचौँ कि म यसको लायक छु कि छैन?देश त परिचालनको चपेटामा छ कम्तिमा तपाइँ त परिचालित हुने उही संस्कारबाट माथि उठ्नुस् ।
जय देश
जय स्वाभिमान

Leave a Reply

Your email address will not be published. Required fields are marked *