एजेन्सी । स्पेनिस क्लब रियल म्याड्रिड युईएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ । बुधबार राति भएको खेलमा ब्रागालाई हराउँदै म्याड्रिडले प्रतियोगितामा लगातार चौथो जित निकालेको हो ।
इस्टाडियो सान्टियागो बेर्नाबेउमा भएको खेलमा म्याड्रिडलाई जित दिलाउन ब्राहिम डियाज, भिनिसियस जुनियर र रोड्रिगोले समान एक-एक गोल गरे । खेलको २७ औं मिनेटमा रोड्रिगोको पासमा ब्राहिमले गोल गर्दै म्याड्रिडलाई शुरुवाती अग्रता दिलाएका थिए ।
५८ औं मिनेटमा लुकासको पासमा भिनिसियसले गोल गर्दै म्याड्रिडको अग्रता दोब्बर बनाए । ६१ औं मिनेटमा भिनिसियसको पासमा रोड्रिगोले गोल गर्दै म्याड्रिडलाई ३-० गोलको जित दिलाएका हुन् ।
जितसँगै म्याड्रिड ४ खेलबाट १२ अंक जोड्दै समूह ‘सी’को शीर्ष स्थानमा रहेको छ । समान खेलबाट ३ अंक जोडेको ब्रागा तेस्रो स्थानमा रहेको छ ।
