वीरगन्ज । भेट्रान्स सिटी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब प्रथम वीरगन्ज गोल्डकपको फाइनलमा पुगेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलको निर्धारित समयमा कुनै पनि टिमले गोल गर्न सकेका थिएनन् ।
पेनाल्टी सुट आउट पनि बराबरीमा टुंगिएको थियो । पेनाल्टीमा दुवैले ३/३ गोल गरेका थिए । त्यसपछि सडन डेथमा नेपाल पुलिस क्लबले १–२ ले भेट्रान्स सिटी क्लबलाई पराजित गरेको हो । सडन डेथमा नेपाल पुलिस क्लबका हेमन्त श्रेष्ठ र विवेक सन्तोषीले एक/एक गोल गरे ।
सिटी क्लबका मुसाले एक गोल गरे पनि राजन चौधरीले सडन डेथमा प्रहार गरेको पेनाल्टी पुलिसका गोलकिपरले रोकेका थिए । त्रिभुवन आर्मी र संकटा फुटबल क्लबबीच बिहीबार दोस्रो सेमिफाइनल खेल हुनेछ ।
कात्तिक १८ देखि सुरु भएको प्रथम वीरगन्ज गोल्डकपको फाइनल खेल शनिबार हुनेछ । विजयी टोलीले ११ लाख ११ हजार ११ सय रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय रुपैयाँ पुरस्कार पाउनेछन् ।
