अर्घाखाँची । अर्घाखाँचीको जलुकेमा २० वर्षअघि एक महिलालाई हत्या गरी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
२०६० साल फागुन १३ गते साविक जलुके गाविस ६ हाल शितगंगा नगरपालिका-८ चरिंगेकी ४५ वर्षीया नन्दा घर्तीको हत्या गरी फरार रहेका रोल्पाको गामका केशलाल घर्तीलाई २० वर्षपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी प्रतित सिंह राठोरले बताए ।
रोल्पाको सुनछहरी गाउँपालिका वडा नम्वर ३ बाहिरी गाममा लुकिछिपी बसेको भन्ने प्रहरीको गोप्य सूचनाबाट थाहा भएपछि इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक विक्रम रिजालले जानकारी दिए ।
मृतक घर्तीलाई एकान्त स्थानमा रहेको घरमा कोही नभएको अवस्थामा डरत्रास देखाएर पैसा माग्दा नदिएपछि हत्या गरेका थिए। अर्घाखाँची जिल्ला अदालतबाट मयाद थप गरी अनुसन्धान भइरहेको प्रहरी जनाएको छ । अन्नपूर्ण दैनिकमा खबर छ ।
