काठमाडौं । नेकपा एमालेले मंसिर १४ गतेदेखि मध्यपहाडी लोकमार्ग अभियान चलाउने भएको छ । बुधबार बसेको सचिवालय बैठकले राष्ट्रिय एकताको आधार निर्माण गर्न तीन साता लामो मध्यपहाडी लोकमार्ग अभियान चलाउने निर्णय गरेको हो ।
उपमहासचिव प्रदीप ज्ञवालीले पहाड समृद्ध नभई मुलुक समृद्ध नहुने भएकाले अभियान चलाउन थालिएको जानकारी दिए । उनकाअनुसार मंसिर १४ गते बिहान ८ः३० बजे झुलाघाटबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले अभियानको उद्घाटन गर्ने कार्यक्रम छ । अभियान झुलाघाटबाट सुरु भएर पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समाप्त हुनेछ ।
यस्ता छन् बैठकका निर्णय
१- सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रबर्धनका लागि लोकमार्ग केन्द्रित ‘झुलाघाट देखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ मङ्सिर १४ गते झुलाघाटबाट आरम्भ हुनेछ । साथै राष्ट्र सबल र समृद्ध बनाउने आत्मविश्वासमा अभिवृद्धि जगाउन जनसम्बन्ध विस्तार गरी जनगुनासो एवं जनताका सुझाव सङ्कलन गर्देै सम्बन्ध स्थानीय र सन्देश राष्ट्रिय रूपमा दिइने छ।
२- भूकम्प प्रभावित जाजरकोट र रूकुम जिल्लामा १हजार बढी स्वयंसेवक परिचालन गरी पीडित परिवारको बसोबासको लागि अस्थायी घरटहरा निर्माण गरिनेछ।
३- पार्टी केन्द्रीय कमिटीको बैठक मंसिर ६ गते काठमाडौंमा बस्ने भएको छ।
४- जिल्ला अधिवेशन गर्नको लागि तोकिएको समयावधिलाई जेठ मसान्तसम्म बढाएको छ।
५- पार्टीको प्रदेश अधिवेशनहरूमा उम्मेदवार हुनुभएका गुलावजंग शाह, कैलाश ढुंगेल, हरि रिजाल मायानाथ अधिकारी, कृष्णप्रसाद दाहाल र बिनोद ढकालको केन्द्रीय कमिटी सदस्यपद रिक्त गरिएको छ।
