कर्णालीका लागि कञ्जुस केन्द्र सरकार !

काठमाडौं । गतवर्ष माघ एक गते पोखरामा यति एयरको जहाज दुर्घटना भयो । दुर्घटनामा चालक दलका चार सदस्य र ६८ यात्रु सबैको निधन भयो । जहाज दुर्घटना लगत्तै बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार माघ २ गते शोक बिदा दिनुका साथै राष्ट्रिय झण्डा आधा झुकाउने तथा अत्यावश्यकबाहेकका सेवा र कार्यक्रम स्थगित गरियो । विमान दुर्घटनाको शोकमा भूकम्प सुरक्षा दिवस मूल समारोह समितिले मनाउन लागेको २५ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस पनि स्थगित भयो ।

त्यस्तै एक महिनाअघि हमासले गरेको आक्रमणमा इजरायलमा दश नेपाली विद्यार्थीको मृत्यु भयो । इजरायलमा बम आक्रमणमा नेपाली विद्यार्थी मारिएपछि सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गर्यो ।

गत शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्र भएर ६.४ म्याग्निच्यूडको भूकम्प गयो । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा गरी १५३ जनाको मृत्यु भयो भने दुई सय भन्दा बढी घाइते भएका छन् । भूकम्पबाट अर्बौंको भौतिक सम्पत्तिको क्षति भएको छ । भूकम्प गएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार बिहानै चिकित्सक र केही औषधि बोकेर जाजरकोट र रुकुम पश्चिम गए । उद्धारमा प्रधानमन्त्रीको सक्रियताको सबैले प्रसंसा गरेका छन् र प्रसंसनिय पनि छ । किनकी प्रधानमन्त्रीले त्यहाँ जाँदा सचिवालयका सदस्य नलगी चिकित्सक र औषधि लिएर गएका थिए । त्यस्तै आफू चढेर गएको हेलिकप्टरलाई विरामीको उद्धारमा लगाए । अनि साँझ त्यो हेलिकप्टर त्यहीँ छाडेर सुर्खेतबाट जहाज चढेर काठमाडौं फर्किए ।

त्यसैगरी युरोप भ्रमण स्थगित गरी राष्ट्रपति रामचन्द्र पौडेल पनि मंगलबार भूकम्प प्रभावित क्षेत्रको भ्रमणमा गए । राष्ट्रपतिले त्यहाँ अस्पतालमा गएर केही बिरामीसँग भेट गर्नुका साथै भूकम्प पीडिसँग अन्तरक्रिया पनि गरे । राष्ट्रपतिले भूकम्प पीडितलाई चिन्ता नगर्न र राहत तथा पुनस्र्थापनाका लागि सरकारसँग कुरा गर्ने आश्वासन दिएर फर्किएका छन् । केहीले राष्ट्रपति भूकम्प प्रभावित क्षेत्रमा गएको भन्दै आलोचना पनि गरेका छन् । देशको अभिभावक भूकम्प प्रभावित क्षेत्रमा जाँदा ठूलो आपत्ति नगर्दा पनि होला ।

तर कर्णाली भने केन्द्रबाट हेपिएको भने पक्कै हो । यत्रो धनजनको क्षति हुँदा केन्द्रलाई एउटा विषयमा भने दुःखेको पाइएन । पोखरामा जहाज दुर्घटनामा ७२ जनाको निधन हुँदा सरकारले राष्ट्रिय शोक मनायो । त्यस्तै इजरायलमा दश जना विद्यार्थी मारिँदा पनि राष्ट्रिय शोक मनाइयो । तर कर्णालीमा भूकम्पबाट डेढ सयको मृत्यु हुँदा, सयौं घाइते र अर्बौंको क्षति हुँदापनि उनीहरुको सम्मानमा राष्ट्रिय शोक मनाउन आवश्यक ठानेन ।

सामाजिक संजालमा डा. रामेश कोइराला लेख्छन्, ‘पोखरामा प्लेन दुर्घटना भयो, देश राष्ट्रिय शोकमा पर्यो । जाजरकोट र रुकुममा डेढसय भन्दाबढीको ज्यान, सैयौँ घाइते र हजारौँका धनजनको क्षति भयो, कुनै शोक–सन्ताप त के नगए पनि हुने सरकारी भ्रमणसमेत रोकिएन । हुन त समाजवाद उन्मुख देशमा शोक मान्छेको मृत्युमा नभएर प्लेनको मृत्युमा पो हुन्छ क्यारे !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *