एजेन्सी । ग्लेन म्याक्सवेलको कीर्तिमानी दोहोरो सतकको मद्दतमा अष्ट्रेलियाले एकदिवसीय विश्वकपमा जित हात पारेको छ । मंगलबार दिउँसो भएको खेलमा अफगानिस्तानलाई ३ विकेटले हराउँदै अष्ट्रेलियाले विश्वकपको सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
जितको लागि २ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४६.५ ओभरमा ७ विकेटको क्षतिमा २ सय ९३ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । म्याक्सवेलले २ सय एक रन बनाउँदै एक्लैले टोलीलाई जित दिलाएका हुन् । उनले १ सय २८ बल खेल्दै २१ चौका र १० छक्का प्रहार गरेका हुन् । यस्तै मिट्चेल मार्सके २४, डेभिड वार्नरले १८ र मार्नुस लाबुसेनले १४ र प्याट कमिंसले १२ रन बनाए ।
अफगानिस्तानको लागि नाभिन उल हाक, अज्मातुल्लाह ओमारजाइ र रसिद खानले समान दुई-दुई विकेट लिए ।
मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको अफगानिस्तानले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा २ सय ९१ रन बनाएको थियो । अफगानिस्तानको लागि इब्राहिम जद्रनले १ सय २९, रसिद खान ३५, रहमत शाहले ३०, हाश्मातुल्लाह शाहिदीले २६, अज्मातुल्लाह ओमारजाई र रहमानुल्लाह गुर्बाजले २१ रन बनाए ।
अष्ट्रेलियाको लागि जोश हज्लेवुडले दुई विकेट लिँदा मिट्चेल स्टार्क, ग्लेन म्याक्सवेल र एडम जाम्पाले समान एक-एक विकेट लिए ।
जीतसँगै अष्ट्रेलिया ८ खेलबाट १२ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा रहेको छ । समान खेलबाट ८ अंक जोडेको अफगानिस्तान छैटौं स्थानमा रहेको छ ।
