बङ्गलादेशले आफ्ना ४० लाख गार्मेन्ट कामदारको न्यूनतम मासिक ज्यालामा मङ्गलबार ५६.२५ प्रतिशतले वृद्धि गरेको छ । सरकारी निर्णयप्रति मजदूर यूनियनले तत्काल विमति राख्दै विद्यमान ज्यालामा तेब्बर वृद्धि गर्नुपर्ने पूर्ववत् अडान कायम रहेको बताएको छ ।
“गार्मेन्ट फ्याक्ट्रीमा काम गर्ने कामदारहरूको नयाँ न्यूनतम मासिक ज्याला १२ हजार ५०० टाका (११३ अमेरिकी डलर) निर्धारण गरिएको छ,” सरकारले नियुक्त गरेको न्यूनतम ज्याला निर्धारण समितिका सचिव राइशा अफरोजले भने ।
बङ्गलादेशका करिब तीन हजार ५०० गार्मेन्ट कारखानाहरूले दक्षिण एसियाली देशको वार्षिक ५५ अर्ब अमेरिकी डलरको निर्यातको लगभग ८५ प्रतिशत हिस्सा ओगटेका छन् ।
बङ्गलादेशले लेभिज, जारा र एच एन्ड एमलगायत फेसन ब्राण्डमा विश्वभर तयारी पोशाक आपूर्ति गर्दछ । तर, यस क्षेत्रका ४० लाख कामदारमध्ये अधिकांशको अवस्था दयनीय छ ।
न्यून आयभएका कामदारमध्ये अधिकांश महिलाहरू छन् जसको मासिक ज्याला आठ हजार ३०० टाका (७५ अमेरिकी डलर) बाट सुरु हुन्छ ।
मासिक ज्याला कम्तीमा २३ हजार टाकाको माग गर्दै आएका युनियनहरूले सरकारी निर्णयलाई तत्काल अस्वीकार गरेका थिए ।
युनियनहरूले बङ्लादेशमा मुद्रास्फीति जुनदेखि अक्टोबरसम्ममा करिब १० प्रतिशत बृद्धि भएको र जीवनयापनको लागत आंशिक रूपमा गत वर्षको सुरुदेखि नै बढेको र अमेरिकी डलरको तुलनामा बङलादेशी मुद्रा लगभग ३० प्रतिशतले अवमूल्यन भएको भन्दै तलवमानमा थप वृद्धि हुनुपर्ने बताएका छन् ।
“यो अस्वीकार्य छ । यो हाम्रो अपेक्षाभन्दा कम हो,” बङ्लादेशगार्मेन्ट एन्ड इन्डस्ट्रियल वर्कर्स फेडेरेसनका प्रमुख कल्पोना अख्तरले भने ।
ज्याला निर्धारण समितिको बैठक सामान्यतया प्रत्येक पाँच वर्षमा बस्छ । सन् २०१८ मा आधारभूत न्यूनतम पाँच हजार टाकाबाट आठ हजार टाका पुर्याएको थियो । यसबाहेक गार्मेन्ट कामदारले पनि हाजिरी शुल्कको रूपमा प्रति महिना कम्तिमा ३०० टाका पाउँछन् ।
