काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको उपाधिको लागि आज घरेलु टोली नेपाल र ओमान भिड्दै छन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल बिहान ११ बजे शुरु हुनेछ ।
आज हुने खेलमा दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिनेछन् । शुक्रबार भएको सेमिफाइनल खेलमा विजयी भएसँगै टी-२० विश्वकपमा छनोट भइसकेका दुवै टोलीलाई आज गुमाउनुपर्ने केहि छैन । तरपनि दुवै टोली आज खेल जित्दै उपाधि जित्ने लक्ष्यमा छन् ।
शुक्रबार टियु मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा ओमानले बहराइनलाई १० विकेटले हराएको थियो भने मुलपानीमा भएको दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली नेपालले युएईलाई ८ विकेटले हराएको हो । जीतसँगै नेपाल र ओमान आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने आईसीसी टी-२० विश्वकपमा छनोट भएका थिए ।
ओमान प्रतियोगितामा अपराजित एक्लो टोली हो । समूह ‘ए’मा रहेको ओमान सबै तीन खेल जित्दै सेमिफाइनलमा पुगेको थियो । त्यसक्रममा ओमानले नेपाललाई ५ रनले हराएको थियो । नेपालले भने समूहचरणको तीन खेलमा दुई जित र एक हारको नतिजा निकालेको थियो । त्यसैले नेपाल आज ओमानमाथि बदला लिँदै उपाधि जित्ने लक्ष्यमा रहेको छ ।
दुई टोलीबीच भएको पछिल्लो ५ भेटमा नेपाल तीन खेलमा विजयी हुँदा दुई खेलमा पराजित भएको छ ।