काठमाडौं । ओपनर कुशल भुर्तेलले आईसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत जारी खेलमा सिंगापुरविरुद्ध अर्धसतक पूरा गरेका छन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा कुशलले व्यक्तिगत सातौँ टी-२० आई अर्धसतक पूरा गरेका हुन् ।
कुशलले २६ बलमा अर्धसतक पूरा गरेका हुन् । त्यसक्रममा उनले ६ चौका र दुई छक्का प्रहार गरे । जीतको लागि १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ताजा अवस्थामा ९ ओभरको समाप्तिमा बिनाविकेटको क्षतिमा ८४ रन जोडेको छ । हाल कुशल ५४ र आसिफ २७ रन बनाउँदै क्रिजमा छन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको हो । सिंगापुरको लागि रोहन रांगाराजनले सर्वाधिक 46 रन बनाए । उनले ३० बलमा ९ चौका र एक छक्का प्रहार गरे । यस्तै आर्याभिर चौधरीले २६ बलमा ५ चौकाको मद्दतमा ३७ रन बनाउँदा मन्प्रित सिंहलेर २४ र अक्षय पुरीले १३ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
नेपालको लागि अविनाश बोहोराले ४ ओभरमा ४३ रन दिएर तीन विकेट लिँदा सन्दीप लामिछाने, करण केसी र गुलसन झाले समान दुई-दुई विकेट लिए ।