काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत आज हुने समूह ‘ए’को पहिलो खेलमा नेपाल र सिंगापुर भिड्दैछन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे शुरु हुनेछ ।
नेपाल आज हुने खेल जित्दै छनोटमा सुखद शुरुवात गर्न चाहन्छ । पछिल्लो पटक सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकप खेलेको नेपाललाई दोस्रोपटक विश्वकपमा छनोट हुने सुनौलो अवसर रहेको छ । घरेलु दर्शकमाझ तुलात्मक रुपमा कमजोर सिंगापुरलाई हराउँदै नेपाल उत्कृष्ट शुरुवात गर्न चाहन्छ ।
शुक्रबार सम्पन्न त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनल खेलमा युएईसँग ४ विकेटले पराजीत भएको नेपाल सुधारिएको खेल प्रस्तुत गर्ने लक्ष्यमा रहेको छ।
दुई साता अगाडि सामाजिक सञ्जालमार्फत त्रिकोणात्मक सिरिजबाट आफ्नो नाम फिर्ता गराएका टोलीका मुख्य स्पिनर सन्दीप लामिछानेलेपनि आजको खेलमा पुनरागमन गर्दैछन् । उनको आगमनसँगै नेपालको स्पिन डिपार्टमेन्ट बलियो बन्नेछ । टोलीमा सन्दीपलाई अर्का स्पिनर ललित राजवंशीले मध्यक्रममा साथ दिनेछन् । त्रिकोणात्मक सिरिजमार्फत चोटबाट पुनरागमन गरेका ललित पूर्ण फिट भइसकेका छन् ।
५ नोभम्बरसम्म हुने छनोटमा नेपालसँगै ८ टोलीले सहभागिता जनाउँदैछन् । सहभागी टोलीमा नेपाल, युएई, ओमान, बहराइन, हङकङ, कुवेत, मलेसिया, र सिंगापुर रहेका छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा नेपाल, ओमान, मलेसिया र सिंगापुर रहेका छन् भने समूह ‘बी’मा युएई, हङकङ, बहराइन र कुवेत रहेका छन् । समूह ‘ए’को सबै खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुनेछ भने समूह ‘बी’का सबै खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ ।
सबै समूहको शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनलबाट फाइनलमा पुग्ने दुई टोली आगामी वर्ष वेस्ट इन्डिज र अमेरिकामा हुने विश्वकपमा छनोट हुनेछन् ।
आजै हुने अन्य खेलहरु
समूह -‘बी’ – युएई विरुद्ध बहराइन (बिहान ९ बजे, मुलपानी क्रिकेट मैदान)
समूह ‘ए’ – मलेसिया विरुद्ध ओमान ( दिउँसो १:३० बजे, टियु क्रिकेट मैदान)
समूह -‘बी’ – हङकङ विरुद्ध कुवेत ( दिउँसो १:३० बजे, मुलपानी क्रिकेट मैदान)