इजराइल–हमास युद्धबारे अमेरिकी अधिकारीहरूसँग वार्ता गर्न साउदी रक्षामन्त्री ह्वाइट हाउस जाने

 

अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनका अधिकारीहरूसँग कुराकानी गर्न साउदी अरबका रक्षामन्त्री खालिद बिन सलमान अल साउद सोमबार ह्वाइट हाउस जाने भएका छन् ।

इजराइल–हमास युद्ध क्षेत्रीय युद्धमा परिणत हुनसक्ने आशङ्काबीच कुराकानी हुन लागेको बताइएको छ । साउदी विदेश मन्त्रालयको एक विज्ञप्तिमा शनिबार साउदी अरेबियाले इजराइलको कुनै पनि स्थल कारवाहीबाट प्यालेस्टिनी नागरिकहरूको जीवनलाई खतरामा पार्ने र यसले अमानवीय खतरा निम्त्याउने बताएको छ ।

एक्सियोसका अनुसार रक्षामन्त्री बिन सलमानले ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभान, रक्षामन्त्री लोयड अस्टिन, विदेशमन्त्री एन्टोनी ब्लिङ्कनेसहित केही सिनेटरहरूसँग कुराकानी गर्नेछन् ।

इजराइल–हमास युद्धभन्दा अघिका साताहरूमा साउदी अरबले इजराइलसँगको सम्बन्धलाई सामान्य बनाउनका लागि अमेरिकी नेतृत्वको कूटनीतिमा प्रगति भएको बताएको थियो ।

यसै साताको सुरुमा टेलिफोन कुराकानीमा अमेरिकी राष्ट्रपति जो बाइडेन र साउदी अरबका युवराज मोहम्मद बिन सलमान अमेरिकी मध्यस्थतामा कुराकानी ‘अघि बढाउन’ सहमत भएका थिए । अमेरिकी मध्यस्थतामा इजराइल–साउदी सम्बन्धलाई सामान्य बनाउन कुराकानी भइरहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *