बेल्लिन्घामको दुई गोलमा बार्सिलोनामाथि म्याड्रिडको पुनरागमन जीत

एजेन्सी । युवा मिडफिल्डर जुडे बेल्लिन्घामले दुई गोल गरेपछि स्पेनिस लिग ला लिगामा रियल म्याड्रिडले ‘एल क्लासिको’मा शानदार पुनरागमन जीत निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनालाई २-१ गोलले हराउँदै म्याड्रिड लिगको शीर्ष स्थानमा उक्लिएको हो ।

इस्टाडी ओलिम्पिक लुइस कम्पनिसमा भएको खेलमा म्याड्रिडलाई जीत दिलाउन दुवै गोल बेल्लिन्घामले गर्दा बार्सिलोनाको लागि इल्काइ गुन्डोगानले एक गोल गरे । पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा बार्सिलोना घरेलु मैदानमै पराजीत हुन पुगेको हो ।

खेलको छैटौं मिनेटमा गुन्डोगानले गोल गर्दै बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए । ६८ औं मिनेटमा बेल्लिन्घामले डी-बक्स बाहिरबाट सुन्दर गोल गर्दै पाहुना टोलीलाई १-१ गोलको बराबरीमा ल्याएका हुन् ।

यस्तै दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा मोड्रिकको पासमा बेल्लिन्घामले व्यक्त्तिगत दोस्रो गोल गर्दै म्याड्रिडलाई २-१ गोलको जीत दिलाएका हुन् । यसै सिजन म्याड्रिडमा अनुबन्ध भएका बेल्लिन्घाम ‘एल क्लासिको’ डेब्युमै दुई गोल गर्न सफल भएका हुन् ।

जीतसँगै म्याड्रिड ११ खेलबाट २८ अंक जोड्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट २४ अंक जोडेको बार्सिलोना तेस्रो स्थानमा यथावत छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *