बङ्गलादेशमा सरकार विरोधी प्रदर्शनमा झडप हुँदा एक प्रहरीको मृत्यु

बङ्गलादेशको मध्य ढाकामा विपक्षी समूहद्वारा शनिबार गरेको आन्दोलनमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा एक प्रहरीको मृत्यु भएको छ ।

केही घण्टासम्म चलेको हिंसात्मक झडपमा एक अधिकारीको मृत्यु हुनुका साथै सयौं व्यक्ति घाइते भएका प्रहरीले पुष्टि गरेको छ । विपक्षी समर्थकको ठूलो भीडमाथि शनिबार प्रहरीले अश्रुग्यास र रबरको गोली प्रहार गरेको थियो ।

बङ्गलादेशका दुई प्रमुख विपक्षी दलका एक लाखभन्दा बढी समर्थकले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन् ।

प्रमुख विपक्षी दल बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) को आधिकारिक फेसबुक पेजमार्फत् सार्वजनिक लाइभ फुटेजमा एकपछि अर्को गरी साउण्ड ग्रिनेड पड्किएको र सडकबाट कालो धुवाँको मुस्लो उठेको देखिन्छ भने हजारौं मानिस सुरक्षाका लागि दौडिरहेको देखिन्छ ।

प्रहरीले अश्रुग्याँस र रबरको गोली प्रहार गर्दा राजधानीको मध्यभागका सडक र गल्लीहरूमा हिंसा फैलिएको थियो भने प्रदर्शनकारीहरूले ढुङ्गा र इँटा प्रहार गरेका थिए ।

ढाका महानगरीय प्रहरीका प्रवक्ता फारुक हुसेनले विपक्षी प्रदर्शनकारीहरूले हवल्दारको टाउकोमा छुरा प्रहार गरेका बताए । बिएनपी र सबैभन्दा ठूलो इस्लामिक पार्टी जमात–ए–इस्लामीको प्रदर्शन यस वर्ष अहिलेसम्मकै सबैभन्दा ठूलो भएको एएफपीका पत्रकारले बताएका छन् ।

बङ्गलादेशका संस्थापक नेताकी छोरी हसिना १५ वर्षदेखि सत्तामा छिन् र बंगलादेशले प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनमा छिमेकी भारतलाई उछिनेर तीव्र आर्थिक वृद्धिको निरीक्षण गरिरहेकी छिन्, तर मुद्रास्फीति बढेको छ र उनको सरकारमाथि भ्रष्टाचार र मानव अधिकार उल्लङ्घनको आरोप लगाइएको छ।

प्रहरी निरीक्षक बच्चु मियाले रबरको गोलीबाट घाइते भएका कम्तीमा २० जनालाई ढाका मेडिकल कलेज अस्पतालमा लगिएको जानकारी दिए ।

शहरको सबैभन्दा ठूलो क्याथोलिक चर्चअगाडि विपक्षी समर्थकले लाठी प्रहार गर्नुका साथै एउटा बस र एउटा प्रहरी चौकीमा आगजनी गरेपछि झडप सुरु भएको थियो ।

बिएनपीले हिंसाको विरोधमा आइतबार देशव्यापी हड्तालको आह्वान गरेको छ । प्रदर्शनमा अवाञ्छित गतिविधि रोक्न र शान्ति कायम गर्न कम्तीमा १० हजार प्रहरी तैनाथ गरिएको थियो भने हजारौँ प्रदर्शनकारी सडकमा उत्रिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *