काठमाडौं । युएईले त्रिकोणात्मक टी-२० आई सिरिजको उपाधि जितेको छ । शुक्रबार दिउँसो भएको फाइनल खेलमा घरेलु टोली नेपाललाई ४ विकेटले हराउँदै युएईले सिरिजको उपाधि जितेको हो ।
जीतको लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको युएईले १९.५ ओभरमा ६ विकेटको क्षतिमा १ सय ६७ रन बनाउँदै जीत हात पारेको हो । युएईको लागि कप्तान मोहम्मद वासिमले विष्फोटक ब्याटिङ गर्दै २२ बलमा ७ चौका र २ छक्काको मद्दतमा ४५ रन बनाए । यस्तै भ्रित्या अर्भिन्दले २६, अर्यानाश शर्माले 25, बासील हामेदले २२, आलिशान शराफुले १३ र अली नासिरले ११ रन बनाए ।
नेपालको लागि अविनाश बिहोरा र गुलसन झाले समान दुई-दुई विकेट लिँदा कुशल मल्लले एक विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६२ रन बनाएको थियो । नेपालको लागि कुशल मल्लले अर्धसतक बनाए । उनले २९ बलमा ६ चौका र ३ चौका प्रहार गरे । यस्तै करण केसीले २३, दीपेन्द्र सिंह एरीले २०, कप्तान रोहित पौडेलले १८, सोमपाल कामीले १३ र सन्दीप जोराले १० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
युएईको लागि आयन अफजल खानले ४ ओभरमा १९ रन दिएर ३ विकेट लिए । यस्तै अलि नासिर र जाहोर खानले समान दुई-दुई विकेट लिँदा जुनाइद सिद्दिकीले एक विकेट लिए ।