काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत जारी फाइनल खेलमा नेपालले युएईविरुद्ध पहिलो सफलता पाएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा गुलसन झाले विस्फोटक ब्याटिङ गरिरहेका युएईका कप्तान मोहम्मद वासिमलाई आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका हुन् ।
वासिम २२ बलमा ७ चौका र २ छक्काको मद्दतमा ४५ रन बनाउँदै आउट भएका हुन् । जीतको लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको युएईले ताजा अवस्थामा ८ ओभरको समाप्तिमा ७८ जोड्दा एक विकेट गुमाएको छ । हाल आर्यानाश शर्मा २२ र भ्रित्या अर्भिन्द ४ रन बनाउँदै क्रिजमा छन् ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६२ रन बनाएको हो । नेपालको लागि कुशल मल्लले अर्धसतक बनाए । उनले २९ बलमा ६ चौका र ३ चौका प्रहार गरे । यस्तै करण केसीले २३, दीपेन्द्र सिंह एरीले २०, कप्तान रोहित पौडेलले १८, सोमपाल कामीले १३ र सन्दीप जोराले १० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
युएईको लागि आयन अफजल खानले ४ ओभरमा १९ रन दिएर ३ विकेट लिए । यस्तै अलि नासिर र जाहोर खानले समान दुई-दुई विकेट लिँदा जुनाइद सिद्दिकीले एक विकेट लिए ।