जेपी गुप्ता ।
नेपालको राजनीतिमा एउटा समवयी पुस्ता, प्रजातन्त्र स्थापनाको आन्दोलनमा जसको अतुल्य योगदान रहेको थियो छिन्नभिन्न भए । कोही संघर्षका लागि असमर्थताका कारणले, कोही आफ्नै दौतरीहरूका कोप भाजनका कारणले, कोही अमुक नेताको असीम प्रेम तथा सीमान्त घृणाका कारणले सिद्धिए । असमयमा असान्दर्भिक भए । यदि आज तपाईं यस पुस्ताको सामान्य फेहरिस्त हेर्नुभयो भने नेपाली काँग्रेसका सर्वशक्तिमान सभापति शेरबहादुर देउवा बिरलै आफ्ना कुनै पुराना साथीका माझ देखिनु हुन्छ। धेरै जीवित छन् तर तिनका प्रति देउवाको कुनै सदभाव वा प्रेमको चासो देखिन्नन् ।
जेल तथा प्रवासमा रहेका कारण उमेरमा समवयी भएपनि शैलजा आचार्य, प्रदीप गिरी, चक्र बास्तोलाहरू जो धेरैजसो जेल तथा प्रवासमा रहे नेपाली कांग्रेसभित्र उनीहरूको भूमिका नेपाल भित्रै रही जेलनेल खेपेका भन्दा भिन्न रह्यो । आफ्नो राजनीतिक जीवनमा देश भित्र केही काल जेलमा रहेको र भारत प्रवासमा पनि केही समय जेल परेका, अनि बढी समय निर्वासमै रहेक सुशील कोइराला एक अपवाद भए । उनी बडो कठिन संक्रमणकालमा मुलुकको प्रधानमन्त्री भए । यही हाराहारीका भीमबहादुर तामांग(दोलखा), ढुंडीराज शर्मा शास्त्री(अर्घाखाँची) सांसद भए, मन्त्री भए । शास्त्रीजी एक गुटका नेतामा सीमित हुन पुगे । भूबिक्रम नेम्वाङ (पाँचथर) विलक्षण प्रतिभाका थिए । यद्यपि चुनावी राजनीति उनको अनुकूल रहेन। नेम्वाङ अन्तिम बेलामा नेपाली काँग्रेस भित्र भूमिकाविहीन नै रहे । मेची अञ्चल भित्र उनको सिके प्रसाईसँग मेल भएन । केन्द्रमा उनी गिरिजाबाबुसँग जोडिएका थिए । किसुनजीले उनलाई बुझ्न सकेनन्। उहाँको देहावसान भैसकेको छ।
विद्वता, संगठन र सकृयताका संगम रहेका सिके प्रसाइैं आफ्नो समयका सर्वाधिक चर्चित एवं प्रभावकारी नेता थिए। प्रवासका दौरान बीपीका पक्षधर भनी दरिएका कारण सूवर्ण शम्सेरबाट माया नपाएका उनी पछिल्लो समयमा यो थाहा पाउन सकेनन् कि उनी किसुनजीका बढी नजिक छन् कि उनको सहोदर दाजु रामबाबु प्रसाईं ? रामबाबु प्रायसः किसुनजीको कार्य समितिमा कोषाध्यक्ष रहेका थिए। गिरिजाबाबुसँग सिकेको कुरा मिल्दथ्यो। तर, झापाको राजनीतिमा चक्र बास्तोलासँग उनको पटक्कै मेल रहेन । उनी नेताहरूको दलदलमा परेर बडो निराश अवस्थामा देहत्याग गरे । ताप्लेजुङका सूर्यमान गुरूङ ऊ बेलाको बृहद् धनकुटा जिल्ला रहेको बेला नेपाली काँग्रेसको जिल्ला सभापति थिए, जो पछि शायद एक पटक सांसद भई राजनीतिक परिदृश्यबाट हराए । इलामका केबी गुरूङ र केबी भट्टराईको बडो नाम थियो। आफ्ना समयका प्रखर व्यक्तित्व थिए दुबै । केबी गुरूङ सांसद भए, एकाध पटक मन्त्री भए। अहिले बृद्ध भए तर यस अघि देखि नै निस्कृय हुन पुगे। उनी सकृय रहुन्जेल गिरिजा बाबुको नजिक रहे । तर, गुटगत रूपमा सुशील कोईरालालाई नेता मान्दथे। फलतः शेरबहादुर देउवाले उनलाई कहिल्यै सम्मान दिएन।
बि.स. २०२६–२७ मा नेपाल विद्यार्थी संघको जन्म हुनुअघि प्रवासमा नेपाली छात्र संघको बडो भूमिका थियो। भारतका ठूला शहरहरू दिल्ली, कलकत्ता, बनारस, इलाहावाद, पटना तथा सीमावर्ती शहरहरू गोरखपुर, दरभंगा, सीतामढी, मधुवनी आदिमा छात्र संघ अत्यन्त सक्रिय थियो। यस मध्येका सीमावर्ती क्षेत्रमा सक्रिय रहेका महेश्वर प्रसाद सिंह, महन्थ ठाकुर काँग्रेसमा महत्वपूर्ण स्थान पाए। चर्चित नै रहे। सप्तरीका हिम्मत सिंह पनि थिए। सप्तरी देखि कपिलबस्तु सम्ममा यस्ता कयौं प्रतिभावान मानिसहरू थिए, जसले प्रवासमा निकै सकृयता रहेको थियो। यिनीहरूलाई नेपालमा नेविसंघवालाहरूले कहिल्यै उचित संज्ञानमा राखेनन् ।
नेपाल विद्यार्थी संघको संस्थापकको रूपमा पनि तथा यसको जन्ममा सकृय तथा प्रेरक रहेकाहरू मध्ये मार्शल जुलुम शाक्य, कमल चित्रकार, पिएल सिंह, वीरनाथ कर्माचार्य, शंकर घिमिरे, दमननाथ ढुंगाना, हरिबोल भट्टराई, राजेन्द्र खरेल, ध्यानगोविन्द रंजितकार, वीरेन्द्र भक्त श्रेष्ठ लगायतकाको भूमिका विशिष्ट रहेको छ। यी सबैको इतिहासको अभिलेखमा लामो चर्चा छ। मार्शल जुलुम शाक्य बि.स. ०४७ को केपी भट्टराई नेतृत्वको अन्तरिम सरकारमा मंत्री हुनु भएबाटै उनको भूमिकाको महत्व थाहा पाउन सकिन्छ। स्व. कमल चित्रकार, हरिबोल भट्टराई र पिएल सिंह विभिन्न खण्डमा काठमाडौंका प्रधानपञ्च तथा मेयर भए। पिएल सिंह केही समय मन्त्री पनि भए। गणेशमानजीसँगको अटुट पारिवारिक सानिध्यताका कारणले पिएल काँग्रेस भित्र “भिल्लको देशमा मणिको महत्व” झैं रहे । गणेशमानजीको मृत्यू पछि पिएलले नेपाली काँग्रेस परित्याग गरे। कसैको आँखा रसाएन।
दमन ढुंगाना अर्को प्रतिभा हुन्। कोइराला परिवारको ज्वाइँ पनि । सभामुख भएपछि कयौं संसदीय निर्वाचनहरूमा पार्टीका तर्फबाट उम्मेदवारसम्म बनाइएन, पछिल्लो समयमा टिकट पाए, पराजित भए । दमनजी सभामुखको रूपमा जुन व्यवसायिक योग्यता देखाए, गिरिजाबाबुले सभामुखको त्यस भूमिकालाई कहिल्यै न्याय गर्न सकेनन् । आजका जीवित काँग्रेसजनमा शायद सब भन्दा खारिएका मानिस दमनजी शेरबहादुरजीले बिरलै संझिने नाम होला। वीरनाथ कर्माचार्य(काठमांडू) र शंकर घिमिरे(काठमांडू) को असामयिक निधन भयो। आज धेरैलाई यि दुबैको नाम पनि याद छैन होला। शंकर धिमिरेकी श्रीमती‘‘. र वीरनाथकी श्रीमती शिलुप्यारी कर्माचार्य पछि राष्ट्रियसभा तिर कि संविधान सभामा ल्याइयो। माथि उल्लेखित नामहरू बडो योगदान दिएका प्रतिभावान नामहरू हुन् । तर, यस प्रतिभावान पुस्तालाई नेविसंघका संस्थापक भनिने कालान्तरमा नेपाली कांग्रेस नेतृत्व सम्हालेका शेरबहादुर–रामचन्द्र पौडेल जीहरूले पन्छाए। एकाध अपवाद बाहेक कसैको उदीयमान सम्भावनालाई राष्ट्र र प्रजातन्त्रको हीतमा उपयोग हुन दिइएन ।
नेपाल विद्यार्थी संघको संस्थापकका साथै यसका पदाधिकारी समेत रहेकाहरू मध्ये रामचन्द्र पौडेल, विपिन कोइराला, शेर बहादुर देउवा, स्व. मच्छेन्द्र पाठक(नुवाकोट), चिरंजीवि वाग्ले(गोरखा), स्व. शिव बहादुर खडका(रामेछाप), स्व. पुरूषोत्तम बस्नेत(सोलु), अर्जुन नरसिंह केसी, आनन्द ढुंगाना(धनुषा), रामशरण महत, स्व. अशोक कोइराला(मोरङ), दवेन्द्रलाल नेपाली(पर्सा), दुर्गा आचार्य(मोरङ, पछि घिमिरे), स्व. हरि न्यौपाने(मोरङ, राम सिटौला(झापा), दामोदर गौतम(काठमांडू), सीताराम निरौला(सोलु), पिताम्बर दाहाल, कृष्ण बहादुर राउत(मोरंग), अनारसिंह कार्की, तारानाथ राणा भाट, अर्जुन खडका(उदयपुर), हेरम्ब बहादुर थापा(उदयपुर) बशन्त गुरूंग(महोत्तरी), दुर्गा पोखरेल(धनकुटा), बीरेन्द्र भक्त श्रेष्ठ(काठमांडू), गोविन्दराज जोशी(तनहुँ), शुक्रराज शर्मा(कास्की), शेषकान्त अधिकारी(चितवन) हरू बि.स. २०१७ पछि नेपाली राजनीतिमा आ–आफ्ना योगदानका कारणले चर्चामा रहेका छन्।
मच्छेन्द्र पाठकको बहुदल नआउँदै रहस्यमय निधन भयो । विपिन कोइराला र शिवबहादुर खड्का पञ्चायती व्यवस्थाको अन्तिम समय तिर केही कालका लागि पञ्चायत प्रवेश गरे, पछि मातृ पार्टी नेपाली काँग्रेसमै फर्केर विपिन कोइराला थोरै समय मन्त्री भए। चिरंजीवि वाग्ले नेपाली कांग्रेस भित्रको गुटगत राजनीतिमा उपयोग गरिएका सबैभन्दा ठूलो नाम हो। भनिन्छ, संसदीय व्यवस्थालाई अफाप देखाउने राजा ज्ञानेन्द्रको खेलमा यिनीको राजनीतिक समाप्तिमा देउवा साक्षी बने । निरीह साक्षी भने होइन। अहिले कतै कालीगण्डकीको किनार तिर बसेर शायद नेपाली काँग्रेसको इतिहास लेख्दै छन् । यिनले समातेका गुटको बहना पक्रेर शेरबहादुर आठौं दशौं पटक प्रधानमन्त्री हुन पर्खी बसेका छन् । प्रकाशशरण महतलाई प्रवर्द्धन गरेर देउवाले आफ्नै समकक्षी तथा नेविसंघका महामन्त्री समेत भएका रामशरण महतलाई शायद अवकाशमा पुर्याएका छन् । अर्जुननरसिंह केसी अत्यन्त लोकप्रिय नेता हुन्। उनी पञ्चायतमा लागेका थिए।
त्यसबखत समेत मन्त्री तथा जिल्ला पञ्चायतका सभापति भए। बहुदल आएपछि यिनी गणेशमानजीको बडो नजिक भए । नुवाकोटकै डा. रामशरण चुनाव हारेपनि गिरिजाबाबुबाट योजना आयोगको उपाध्यक्ष बनाइए। भनिन्छ, गणेशमानजी र गिरिजाबाबुको पहिलो मतभिन्नताको जरो डा. महतको यही नियुक्ति हुन गयो। जबकि डा. महत केही समयपछि गिरिजा बाबुसंग नजिकिए। अर्जुन नरसिंह केसी पनि गणेशमान जीसंग रहेनन्। गिरिजा बाबुकै खेमामा आए। जबकि उही बेलादेखि शेरबहादुर देउवा र रामचन्द्र पौडेलहरूले अर्जुनलाई कहिल्यै राम्रो मानेनन् । आज अर्जुनजी शेरबहादुरका अनेकन् गलत काम कुरोको खुला विरोध गरिरहेको भेटिन्छन् । यसै समयका टिका पोखरेल बडो कठिन समयमा नेविसंघका महामन्त्री थिए, पछि राजनीतिको मूलधारमा देखिएनन्। नवीन प्रकाश जंग शाह(धादिङ) थाईलैण्डका लागि राजदूतसम्म बनाइए। यिनको पारिवारिक गाथा अतुलनीय छ। टेकबहादुर चोख्याल कैलालीबाट प्रतिनिधिसभामा केही पटक निर्वाचित भए मन्त्री पनि बनाइए। यिनी सदैव देउवासँग रहे जबकि तारिणी दत्त चटौत(कंचनपुर) को बडो योगदान गरेको पारिवारिक पृष्ठभूमि पनि छ। उनि मन्त्री पनि भए तर लाउडा एयर प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेर छेउ किनारमा बस्नुपर्यो । सुदूरपश्चिमको काँग्रेसी राजनीतिमा देउवाले तारिणीलाई निमिट्यान्न् नै बनाएर छोडे ।
सिद्धराज ओझा सुदूर पश्चिमका एक हस्ती हुन् । उनी गिरिजाबाबुका पक्षमा रहेपनि त्यताको शक्ति सन्तुलनका लागि देउवाले यिनलाई सहेरै बसे । यस भेगबाट खेमराज भट्ट मायालुको नाम बिर्सन सकिन्न् । राष्ट्रिय राजनीतिमै यो एक ठूलो नाम हो । बीचको समयमा यिनी नेपाली काँग्रेस परित्याग गरि रामराजाप्रसाद सिंहको जनवादी मेर्चामा सिंह पछिको नेता थिए। राजतन्त्रको विरोधमा शसस्त्र अभियान चलाए। पञ्चायतकालमा सर्वस्व सहित मृत्यूदण्डको सजाय सुनाइएको थियो, पछि आममाफी पाएपछि पुनः नेपाली काँग्रेसमै फर्किए। सुदूर पश्चिममा मायालुको नाम देउवा भन्दा ठूलो थियो। तर, जब खेमराज नेपाली काँग्रेसमा फर्किए–देउवा निकै ठूलो भैसकेका थिए। फलतः चुनाव लडनका लागि यिनी डडेल्धुराबाट तल झरेर बर्दिया आए। शेरबहादुरले यिनलाई जीवन पर्यन्त मन पराएनन्। हालै यिनको देहावसान भयो।गोपालमान श्रेष्ठ(स्यांगजा) हरू पटक पटक सांसद–मंत्री भए। गोपालमान देउवाका नजिक छन्। मोरङका बद्री नारायण बस्नेत एक उद्भट क्रान्तिकारी हुन्। सदैव कोइराला निवासको नजिक रहे । तर, कोइराला परिवारले यिनलाई हुत्याई दिए। यिनी देउवा क्याम्प तिर लागे, शायद देउवाले पनि यिनको सान्दर्भिकतालाई जोगाइ दिएनन्।
होमनाथ दाहाल(ओखलढुंगा) पनि एक स्तुत्य नाम हो । काँग्रेसमा लामो इतिहास भएको, राष्ट्रपुकार साप्ताहिकको सम्पादक । जुन राष्ट्रपुकारका कारणले नेविसंघको एक पुस्ता, देउवाहरूको पुस्ताले पहिचान पाए–त्यही देउवाको पुस्ताले होमनाथ दाहाललाई मूलधारको राजनीतिमा उठन न दिनका लागि सम्पादक को सम्पादक नै बनाई राख्न चाहे। यिनले सांसद र थोरै समय मंत्री भएपनि यथोचित्त स्थान एवं मूल्यांकन पाउन सकेनन्। ऋषिकेश गौतम(बारा) पनि थोरै थोरै समय मंत्री भए। हिम्मत सिंह(सप्तरी), मेघनाथ अर्याल(गुल्मी), गौरी राणा जोशी(काठमांडू) को नेपालको प्रजातान्त्रिक आन्दोलनमा बडो ठूलो योगदान रहेको छ। यस्ता कयौं दर्जन नामहरू छन्। लगभग सबैले ५÷७ पृष्ठका इतिहासलाई पठनीय बनाउन सक्छन्। आज यिनीहरू नेपाली काँग्रेस, प्रजातन्त्र स्थापनाको आन्दोलनको भग्वनाशेषमा दबेर रहेका छन्। कोही भने जाज्वल्यमान भएका छन् । सर्वकालिक र सबै युगका लागि आफूलाई अविश्वमरणीय बनाइसकेका छन् । यहाँसम्म लेख्दा म स्वयंले बिर्सीसके किं म यो फेहरिस्त किन लेखे ? तैपनि यी पंक्तिहरू लेखे–सानो अभिलेखको रूपमा।
