जेपी गुप्ता ।
नेपालगंजको घटनापछि अखबारहरू तथा सामाजिक सञ्जालमा रहेको यो सर्वाधिक प्रचारित ‘फ्रेम’ हो । लुगाफाटा, पहिरनको हिसाबले बडो प्रतिकात्मक छ । यो तस्बिर सद्भावना र्लीको हो। प्रायसः अन्तरधार्मिक तथा सामुदायिक भीडन्तहरू पछि यस खाले सद्भाव र्यालीहरू निस्कनुको इतिहास लामो छ । नेपालगंजमा मात्र हैन, सबैतिर । हिन्दू–मुसलमानको सन्दर्भमा मात्र हैन–अनेकन् सन्दर्भहरूमा। यो निस्कनै पर्छ र पो त यो सरकारबाट प्रतिरक्षित हुन्छ । यसका अनेकौ उदाहरणहरू छन्। पछिल्ला केही मुख्य उदाहरण दिने हो भने काठमाडौंमा घटेको ऋतिक रोशन प्रकरणमा कमजोर एक समुदाय राज्यको संरक्षणमा मारिए लुटिएपछि जब मुलुकको दक्षिणी पानीढलो क्षेत्रमा प्रतिकार शुरू भयो, राजधानीमा सद्भाव रयाली निस्कियो।
मधेस आन्दोलन पूर्व नेपालगंजमा भएको दंगा अब धेरैलाई याद नहोला । अहिले हालैको दंगामा हिन्दू र मुसलमान एक अर्काको बिरोधमा उभिए। तर, त्यसबेला नेपालगंजमा यी दुबै एउटै समुदाय जो राज्यपक्ष कहलिन्छ–त्यसबाट घेरिएर बालिए, जलाईए । यसपछि तत्कालिन सरकारले काठमाडौंबाट शान्तिकामीहरूलाई ओसारेर यस्तै सद्भाव र्याली निकालियो । आगो लगाउनेहरू, पीडकहरू रूपेडिया, नेपालगंजमोड पुगेर पाईजामा मुसलमानी कुर्ता तथा शेरवानी किनेर लगाए । ढाका टोपी त काठमाडौंबााटै गएको थियो । पुलिस, सेना तथा प्रशासनको खुला संरक्षणमा जसको पसल कबल र आश्रयका रैनबसेरामा डढेलो लगाइएको थियो–तिनीहरू सरकारको संरक्षणमा अन्तरनश्लीय सद्भाव र्याली हेरिरहें ।
कर्णाली क्षेत्रमा अभिजात्य समुदायका पुल्पुल्याईएका लडकाहरूले दलितकी छोरीलाई बलात्कार गर्छन् । राज्य पीडक पक्षको किटानी जाहेरी लिन अस्वीकार गर्छ । ठूलो विरोध हुन्छ, यो विरोध जब अभिजात्यहरूको शासनका लागि चुनौती बन्दछ–रातारात सद्भाव र्यली निकालिन्छ । पात्रको अनुहार तथा थर फेरिएको हुन्छ। भूगोल बदलिएको हुन्छ। जब यस्तै करतूत मधेसका सप्तरी, सिरहा जिल्लाहरूमा मधेसी नवसत्ताका पृष्ठपोषकबाट गरिन्छ–उही नाटक दोहोरिन्छ । प्रदेश सरकारले टोपीको बदला फेटा र धोतिगम्छा बाँडेको हुन्छ सद्भाव र्यालीका नायकहरूलाई ।
कतिवटा उदाहरण दिनु र कुन शासनको ? केही अघिको जनकपुरको रामनवमी बेलाको, सर्लाही मलंगवाको मूर्ति सेलाउने समयको, धरानमा मन्दिरको सामुन्ने चर्च बनाएकोमा वा गाई काटेर पकाएको दृश्य सामाजिक सञ्जालमा राखेपछि उत्पन्न तनाव पश्चातको–अनेकन् अनेकन् सद्भाव र्याली अनेकन् सन्दर्भहरूमा मञ्चन हुने गर्दछ।
यी सबै प्रायोजित नाटकहरूले तथ्य र यथार्थको हत्या गरेको इतिहास छ । भर्खरैको नेपालगंजको दंगाको कारण, कारक वा तथा दोषी जगजाहेर छ। भिडियोहरू सञ्जालभर छरप्रष्ट छ। हिन्दू संघ–संगठनहरूको, मुसलमानका संघ–संगठनहरूको, राज्य–प्रशासन तथा राजनीतिक दलहरूको संलग्नता सप्रमाण जगजाहेर छ । जो कारक रहेका छन्, पीडक छन् उनै लंकादहन पछि जलेका खरानीमा पग्लेर ढिक्का भएको सुन खोज्दैछन् । तैपनि मेरो विचारमा यो फ्रेम राम्रो छ। यी पहिरनहरूले धेरै कुराहरू बताइरहेको छ। आउने दिनहरूमा धेरै कुराहरू उदांगिने नै छ।
तस्बिर: सामाजिक संजालबाट
