पुराना दलमाथि दबाब बढाउँदै रास्वपा

काठमाडौं । गत मंसिरमा भएको संसदीय निर्वाचनमा विगतको भन्दा कम परिणाम आएको र नयाँ दल उदाएपछि पुराना भनिएका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका दलले विभिन्न नाम दिएर अहिले देश दौडाहा गरिरहेका छन् । नेकपा एमालेको ‘मिसन ८४’ अभियान चलाएको छ । यस अभियानअन्तर्गत एमालेले नेताहरुलाई गाउँगाउँमा खटाएर जनतासँग अन्तरक्रिया गर्दै आएको छ । त्यस्तै नेपाली कांग्रेसले साउन २० देखि ३० गतेसम्म ‘आन्तरिक विशेष अभियान’ संचालन गर्यो । यस अभियानमा कांग्रेसले राष्ट्रव्यापी रूपमा प्रतिनिधिसभा र प्रदेश सभा सदस्य बाहेकका केन्द्रीय पदाधिकारी एवं सदस्यहरुलाई ७७ जिल्लामा केन्द्रीय प्रतिनिधिको रुपमा खटाइएको थियो । अभियानले पार्टीको सांगठानिक अवस्थावारे विधान सम्मत भए नभएको साक्षात परीक्षण गरिएको र सो बमोजिम गर्नुपर्ने कार्य नगरिएका वा नभएका जिल्ला, क्षेत्र, प्रदेश, पालिका वा वडाहरुलाई तत्काल गर्न गराउन निर्देशन दिई पार्टी संगठनलाई चुस्त दुरुस्त बनाउने महत्वपूर्ण कार्य गरेको कांग्रेसले जनाएको छ । त्यस्तै माओवादी केन्द्रले ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ भन्दै तीन महिने अभियान संचालन गरिरहेको छ । नेकपा एकीकृत समाजवादीले पनि जनताको कुरा प्रत्यक्ष सुन्न र राज्यको निकायसम्म पुर्याएर समास्या समाधान गर्ने उद्देश्यले ‘एकीकृत समाजवादी जागरण अभियान’ सुरु गरेको छ । पूर्वी नाका काँकरभिट्टाबाट आइतबारदेखि सुरु गरिएको मेची–महाकाली यात्रा युवालाई उत्पादनसँग जोडेर स्वरोजगार बनाउने, भ्रष्टाचार नियन्त्रण गर्ने र मुलुकमा सुशासन कायम गर्ने मुख्य ध्येयले सुरु गरेको एकीकृत समाजवादीले जनाएको छ । नाम जे दिएपनि यी सबै दलको योजना ८४ को चुनावमा पहिलो बन्ने रहेको छ ।

पुराना दलले यसरी अभियान चलाइरहेका बेला नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीले पनि जिल्ला जिल्लामा पुगेर सभा सम्मेलन गर्दै आएको छ । रास्वपाले माओवादीको उद्गमस्थल रोल्पाको थवाङ, गोरखा, चितवन, कपिलवस्तु, कालीकोट, बैतडी, सिन्धुलीलगायतका जिल्ला र त्यसमा पनि जिल्लाका ग्रामिण क्षेत्रमा गएर कार्यक्रम गरी जनतासँग अन्तरक्रिया गरेको छ । यतिसम्म भयो कि रोल्पामा रवि लामिछानेलाई जान रोक्न माओवादीले प्रयाससमेत गरेको थियो । तर उसको प्रयास सफल भएन र उनी रोल्पा पुगे र केही दिन त्यतै बसे ।

नक्कली शरणार्थी काण्ड, सुनकाण्डलगायतका भ्रष्टाचारका काण्ड आएपछि पुराना दलका नेताहरुको बैठकलाई लिएर रवि लामिछाने आजित भएका थिए । उनले भ्रष्टाचार काण्ड आएपछि मिल्ने अरुबेला गालीगलौजमा उत्रिने गरेको भन्दै पुराना दललाई व्यबहारप्रति कटाक्ष गर्दै आएका थिए ।

तर जब उनी रोल्पासम्म पुगेर जनतासँग अन्तरक्रिया गरी फर्किए, त्यसपछि भने रास्वपा उत्साहित भएको छ र ठूला दलमाथि दबाब बढाउन थालेको छ । जनतासँगको अन्तरक्रियामा पुराना दलबाट आजित भएको गुनासो सुनेपछि रास्वपाले पुराना दलप्रति दबाब बढाउन थालेको हो । रोल्पाबाट फर्केपछि रास्वपा सभापति लामिछानेले सामाजिक संंजालमार्फत पुराना दललाई कि तिमीहरुको सटर बन्द हुनुपर्यो कि हाम्रो भन्दै चुनौती नै दिएका छन् ।

उनले सामाजिक संजालमा यस्तो लेखे,‘ सम्पूर्ण पुराना दलहरुलाई अपीलः  देशमा ब्याप्त बेथितिलाई ठिक गर्ने अन्तिम अवसरका रुपमा अब यो ४ वर्ष तपाईहरु सबै मिल्नुस् । देशका तमाम समस्या सुल्झाउन हामी बाहेकको सहमतीय सरकार बनाउनुस्। हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौं। यो अवसरको सदुपयोग गरेर ३३ वर्षमा गरेका गलत काम सच्याउने हो कि मिलेमतो गरेर तिनलाई ढाक छोप गरी प्रमाण लुकाएर,थप अपराधीहरुलाई छुटाउने बचाउने हो त्यो तपाईंहरुको जिम्मा । तर ‘मिशन ८४’ भनेर तपाईंहरुले भनेको त फिटिक्कै सुहाएन । तपाईको लागि त मिशन ८० नै छ त ! मिशन ०७ सालदेखि निरन्तर मिशन नै मिशन थियो त ! केही नभए पनि मिशन ६३ देखि त अवसर नै अवसर थियो होला। अझ मिशन ८०, मिशन ८१, मिशन ८२, मिशन ८३ छदै छ त ! यो ४ वर्ष सबै मिलेर यसरी काम गर्नुस् कि हामी जस्ता नयाँ लोकरिझ्याई वाला, सिद्धान्त नभएका, आफ्नै सहिद नभएका दललाई पुरै असान्दर्भिक बनाइदिनुस् । ४/४ वर्ष बाँकी छ, गर्नुस् काम र देखाइदिनुस् आफ्नो अपार क्षमता । जनताले तपाईंहरुलाई यसरी भोट दिउन् कि हाम्रो जमानत जफत होस् । ४ वटा सही निर्णयले मात्रै पनि मुलुकमा धेरै सुधार हुन सक्छ, तपाईंहरुसँग ४/४ वर्ष छ। गर्नुस् निर्णय र देखाइदिनुस् हामी सबैलाई । राजनीतिको एउटा सटर त बन्द हुनैपर्छ हजुर !! कि तपाईको कि हाम्रो । ४ वर्षअघि नै एड्भान्समा घण्टी बजाएर सचेत गराएको छु,सोच्नु होला।’

रविको यो स्टाटसबाट के बुझ्न सकिन्छ भने अब सके तिमी चार वर्षमा सुध्र नभए ८४ को चुनाव आफूहरूका लागि हो भनेर खुला चेतावनी हो ।
नेपाल आयल निगमले इन्धनको मूल्यबृद्धि गरेपछि आइतबार प्रधानमन्त्रीले संसदमा प्रतिनिधित्व गर्ने सबै दलको बैठक बोलाए । तर रास्वपा बैठकमा गएन । उसले मूल्यबृद्धिको विरोधमा बैठक बहिष्कार गर्यो । रविले सामाजिक संजालमा लेखे, ‘चाड पर्वहरुको मुखमा आम उपभोक्ताहरुलाई मार पर्ने गरि सरकारले गरेको मुल्यवृद्धिप्रति हाम्रो गम्भीर आपत्ति छ। यसको विरोध स्वरूप आज प्रधानमन्त्रीज्यूले बोलाउनु भएको अन्य विषयको बैठक हामीले बहिष्कार गरेका छौं । थप कार्यक्रम बारे जानकारी दिनेछौं।’

पुराना सबै दलको सरकारको पालामा आममाफी दिएर हजारौं अपराधी रिहा भएका छन् । आममाफीको विषयमा पनि सरकारको निर्णयको रास्वपाले विरोध गर्दै आएको छ । सोमबार रास्वपाले राष्ट्रपतिलाई भेटेरै ध्यानाकर्षण पत्र बुझाएको छ । पत्रमा सजाय माफीसम्बन्धी कानुन निर्माण गर्दा विधायकले राखेको मनसायलाई मनन गरी संवैधानिक तथा कानूनी व्यवस्थाको पालना गर्न/गराउन सरकारको ध्यानाकर्षण गराउन राष्ट्रपतिलाई आग्रह गरिएको छ ।

त्यस्तै, सजाय माफी, मुलतबी, परिवर्तन र कम गर्न कानूनले नै निषेध गरेका व्यक्तिको स्वार्थ प्रेरित रिहाइलाई रोकी राज्यमा कानुनी राज्य, शान्ति सुव्यवस्था र न्यायको प्रत्याभूति आम जनतामा अनुभूत गराउन आवश्यक कानूनी व्यवस्था स्थापना तथा परिमार्जनका लागि सरकारको ध्यानाकर्षण गराउन पनि भनिएको छ । त्यसैगरी सरकारबाट भएका सिफारिस संविधानसम्मत भए/नभएको सन्दर्भ यकिन गरी मात्र अनुमोदनका लागि पठाउन सरकारको ध्यानाकर्षण गराउन आग्रह गरिएको छ ।

उपप्रधान तथा गृहमन्त्रीसहित रवि लामिछाने सरकारमा जाँदा रास्वपामाथि ‘एमालेको भाइ’ भन्ने आरोप लागेको थियो । तर बीचमा सांसद पद गएपछि र उपनिर्वाचनबाट फेरि जितेर आएपछि भने रास्वपा फरक ढंगबाट प्रस्तुत हुन थालेको छ । पहिलो पटक निर्वाचन लडेको दलले सूरुमै २० सिट र वैशाखमा भएको उपनिर्वाचनमा थप एक गरी २१ सिट जितेको छ । उसले अब पुराना दलका कमजोरी समातेर ८४ सालको निर्वाचनलाई ताकेको छ । रविले ८४ को निर्वाचनमा एउटाको सटर बन्द हुनैपर्छ भनेर चुनौती दिएका छन् । यो उनले त्यसै बोलेका छैनन् । किनभने गाउँगाउँमा पुगेर जनमत बुझेपछि उनको यस्तो भनाई आएको हो । कसको सटर बन्द होला त, पुराना दलको कि रविको त ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *