काठमाडौं । २०४० सालको माघ महिनाको अन्तिम साता । ‘बखान बा’का नामले सुप्रसिद्ध बखानसिंह गुरुङको निधन भएको थियो । गुरुङका दुई छोरा धर्मध्वज २००७ सालको क्रान्तिका क्रममा र लालध्वज २०१८ सालमा राजा महेन्द्रको कदमका विरुद्धको प्रजातान्त्रिक आन्दोलनको संघर्षमा शहीद भएका थिए । त्यसैकारण बखानसिंह गुरुङ सबै प्रजातन्त्रवादीका ‘बखान बा’ बनेका थिए । ती बखान बा कालान्तरमा पञ्चायत व्यवस्थाको समर्थक बन्नपुगे र पञ्चायती मन्त्री पनि बने । मन्त्री पदमा बहाल रहँदै उनको निधन भएको थियो । उनको निधनको औपचारिक घोषणा गर्न पनि ढिलो भएको भन्ने सुनिएको थियो । बहालवाला मन्त्रीको निधनको समाचार सार्वजनिक गर्न महाराजाधिराजसमक्ष जाहेर गरेर बक्साउनुपर्ने रहेछ र त्यसबेला महाराजाधिराज विकास क्षेत्र भ्रमणका क्रममा उपत्यकाबाहिर रहेछन् । यही कारण ढिलो भएको रे !
त्यसबेला राजनीतिक दलहरू प्रतिबन्धित थिए । तर, काठमाडौं जमलमा प्रतिबन्धित नेपाली कांग्रेसको कार्यालय थियो । अखबारहरूले ‘प्रनेकाका सभापतिले भन्नुभयो’ खाले समाचारहरू प्रकाशित गर्थे । जमल कार्यालयमा सभापतिको कार्यकक्ष थियो । हामीजस्ता समर्थक शुभेच्छुकहरू त्यहाँ जान्थ्यौं । निगरानी गर्न बाहिर बसेका सादा पोसाकका प्रहरी वा गुप्तचरलाई हामी वास्ता गर्दैनथ्यौं । सभापति कृष्णप्रसाद भट्टराईका लागि एउटा काठे घुम्ने मेच थियो, त्यस कार्यालयमा । त्यस दिन पनि हामी कांग्रेस कार्यालयमा पुगेका थियौं । सधैंभन्दा केही ढिलो गरी कृष्णप्रसाद भट्टराई आउनुभयो । तर, त्यस दिनचाहिँ साथमा गणेशमान सिंह र सायद गिरिजाप्रसाद कोइराला पनि आउनुभएको थियो । गिरिजाबाबुका ’boutमा यकिनका साथ भन्न सकिएन । तर, उहाँ पनि हुनुहुन्थ्यो जस्तो लाग्छ । आखिर ४० वर्षभन्दा अघिको घटना न हो ! उहाँहरू आफ्ना पुराना सहयोद्धा बखानसिंह गुरुङको अन्त्येष्टिमा सामेल भएर आउनुभएको रहेछ । किसुनजी आफ्नो सभापतीय कुर्सीमा बस्नुभयो भने बाँकी दुई नेता उहाँको दायाँबायाँ ।
गणेशमानजीले पुराना कथा सुनाउन थाल्नुभो । उहाँको कथावाचन शैली अत्यन्तै रमाइलो हुनेगथ्र्यो । बीचबीचमा ‘माने’ भन्ने थेगो प्रयोग गर्दै लामो लेग्रो तानेर गजबको हाउभाउ गर्नुहुन्थ्यो । उहाँको शैली अनौठो हुन्थ्यो । पटकपटक सुनिसकेको कथा पनि पुनः सुनिरहौं जस्तो लाग्ने । उहाँको नक्कल गरेर शब्दमा बर्णन गर्न असम्भव प्रायः छ । उहाँले बखान बासँग सम्बन्धित दुई सत्य घटना सुनाउनुभयो ।
२४ चैत २०३५ का दिन पाकिस्तानी नेता जुल्फिकार अलि भुट्टोलाई फाँसी दिइएको विरोधमा विद्यार्थीले गरेको विरोध प्रदर्शनमाथि दमन भयो र विद्यार्थी आन्दोलन चर्किंदै गयो । यसैक्रममा १० वैशाख २०३६ का दिन अस्कल कलेजमा सम्पूर्ण विद्यार्थी भेला भएका थिए । करिब ३ हजार विद्यार्थी भेलामा प्रहरी दमन सुरु भयो । मण्डले प्रवृत्तिका विद्यार्थीले पनि प्रहरीलाई सहयोग गरेका थिए । छात्रावासमा पसेर विद्यार्थीका सरसामान लुट्नुका साथै कयौं विद्यार्थीलाई छतछतबाटै फ्याँकियो । त्यस दिन करिब २ सय पक्राउ परे । दर्जनौं घाइते भए । स्वयं म आफू पनि पछाडिको पर्खालबाट फाल हालेर जोगिएको थिएँ ! यो घटना ‘अस्कल काण्ड’का रूपमा इतिहासमा अंकित छ ।
गणेशमानजीले सुनाउनुभएको पहिलो घटना त्यही अस्कल काण्डसँग सम्बन्धित छ । बखानसिंह गुरुङ त्यसबेला अस्कलनजिकै कतै बस्दा रहेछन् । अस्कलको मारपिटबाट जोगिने क्रममा केही विद्यार्थी भाग्दै बखानसिंहको निवासभित्र छिरेछन् । प्रहरीले लखेट्दै पछ्याइरहेका थिए । उनीहरू पनि त्यहाँ पुगेछन् । बखानसिंह बाहिर बरन्डामा बसिरहेका रहेछन् । प्रहरीको मारबाट बच्न त्यसमध्येका एक विद्यार्थीले भनेछन्, ‘हामी उहाँलाई भेट्न आएका हौं ।’ सायद ती विद्यार्थीले बखानसिंहलाई चिन्दथे । प्रहरीले बखानसिंहतर्फ फर्किंदै सोधेछन्, ‘तपाईंलाई भेट्न आएका हुन् ?’ बखानसिंहले सानो ‘हो’ भनिदिएका भए सायद ती विद्यार्थी बच्ने थिए । गणेशमानजीका अनुसार बखानसिंह चूप रहे । नबोलीकन ‘होइन’ बुझिनेगरी मुन्टो हल्लाए, तर्सिएको लाटोले झैं । ती विद्यार्थीलाई प्रहरीले लछारपछार गर्दै घिसार्दै लिएर गए । गणेशमानजीले थप्नुभयो, ‘त्यत्रो बलिदान गरेको बखानसिंह कस्तो गिरेको ! लोभ र त्रासले कतिसम्म गर्छ !!’
त्यसदिन गणेशमानजीले सुनाउनुभएको बखानसिंहसँग सम्बन्धित अझै बढी चाखलाग्दो अर्काे एक घटनाका ’boutमा अब बताउँदै छु । २०१६ सालतिरको कुरा हो । किसुनजी प्रतिनिधिसभाको सभामुख हुनुहुन्थ्यो र गणेशमान सिंह बीपी कोइराला सरकारमा मन्त्री । सभामुख कृष्णप्रसाद भट्टराईको नेतृत्वमा एक संसदीय प्रतिनिधिमण्डल भारत भ्रमणमा गएछ । सो भ्रमण टोलीमा गणेशमानजीलगायत बखानसिंह गुरुङ पनि सामेल रहेका थिए । भ्रमण दल भारतको दिल्लीलगायत केही सहरको भ्रमणपश्चात् दक्षिण भारतको बैंगलोर पुग्यो । त्यसबेला राणा साशनको समाप्तिपश्चात् प्रधानमन्त्री पदबाट हटेका अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेर जबरा बैंगलोरमा आफ्ना परिवारसहित अवकाश जीवन बिताइरहेका थिए ।
बैंगलोर विमानस्थालमा भ्रमण टोलीलाई स्वागत गर्न भारतीय सरकारी अधिकारीहरू त आउने नै भए । विमानस्थलमा मोहन शमशेरका तर्फबाट उनका छोरा ‘सम्भवतः शारदा शमशेर’ पनि भ्रमण दलको अगुवाइ गर्न पुगेका रहेछन् । जनरल शारदाले भ्रमण टोलीलाई स्वागत गरे र टोली नेता किसुनजीलाई भने, ‘महाराज (मोहन शमशेर)ले तपाईंहरूलाई आफ्नो निवासमा स्वागत गर्न चाहिबक्सेको छ, म यहाँहरूलाई महाराजका तर्फबाट डिनरका लागि निमन्त्रणा गर्न आएको हुँ ।’ शारदा शमशेरको कुरा सुनेपश्चात् किसुनजीले भन्नुभयो, ‘जरसाहेब ! हामी आउँछौं तर यतिबेला हामी भारत सरकारको पाहुना हौं, उनीहरूले केकस्तो भ्रमण कार्यक्रम मिलाएका छन्, त्यो हेरेर समय मिलाउनुपर्छ, महाराजलाई धन्यबाद सुनाइदिनोस् र यो कुरा बताइदिनोस् ।’
भारतीय अधिकारीहरूसँग समन्वयपश्चात् भोलि वा पर्सिपल्टकै लागि समय जु¥यो । नियत दिनको साँझ भ्रमण दल मोहन शमशेरको निवासमा पुग्यो । गणेशमानजी सम्झिँदै भन्नुहुन्छ, ‘समय किटान भइसकेको थियो । बखानसिंहचाहिँ आनाकानी गर्दै थियो, म जान्नँ, यतै बस्छु भन्दै थियो । किन नजाने भन्दैनथ्यो, खाली अप्ठ्यारो मानिरहेको देखिन्थ्यो । मैले लगभग झपारें । किचलो नगर्नाेस् र खुरुक्क हिँड्नोस् भनें । उनी असहज महसुस गर्दागर्दै पनि हामीसँग आए ।’ मोहन शमशेरको निवासको कम्पाउन्डको गेटमै मोहन शमशेरका छोरा र अन्य केही परिवारका सदस्यले किसुनजीको टोलीलाई सम्मान साथ स्वागत ग¥यो । महाराज आफ्ना रानीहरूका साथ भवनको मूलद्वारमा टोलीको प्रतीक्षामा उभिएका थिए । अत्यन्तै राजसी पाराले मोहन शमशेरले टोलीलाई स्वागत गरे र शिष्ट ढंगले डाइनिङ टेबुलसम्म डो¥याए । सबैजना टेबुलको ’round बसे । स्वाभाविक रूपमा किसुनजी मोहन शमशेरको नजिक बस्नुभएको थियो । मोहन शमशेरका रानीहरू पनि थिए । मोहन शमशेर, किसुनजी अनि गणेशमानजी अनि अर्काेतर्फ मोहन शमशेरसँगै उनका रानीहरू र छोरा इत्यादि । गणेशमानजी पछि उहाँसँगै बखानसिंह गुरुङ परेका रहेछन् । गणेशमानजी भन्नुहुन्छ, ‘बखानसिंह त घस्रिन खोज्छन्, मेचको छेऊछेऊ पुग्न खोज्छन् । मैले सानो स्वरमा हपारें (राम्ररी बस्नोस् न । के गरेको यस्तो ?’
यत्तिकैमा अंग्रेजी शैलीमा परिचय लिने दिने काम भयो । मोहन शमशेरले आफ्नी रानीहरूलगायत परिवारका सदस्यहरूको परिचय दिए । अनि किसुनजीले भ्रमणदलका सदस्यहरूको परिचय दिन थाल्नुभो । गणेशमानजीतर्फ औंल्याउँदै किसुनजीले भन्नुभो, ‘गणेशमानजीलाई त महाराजले चिन्नुहुन्छ नै होला ।’ त्यहाँ व्यंग्य थियो । गणेशमानजीलाई मोहन शमशेरले निर्मम यातना दिएका थिए र उहाँले मोहन शमशेरको जेल तोडेर ठूलो चुनौती प्रस्तुत गर्नुभएको थियो । गणेशमानजीका बडा बाजे काजी रत्नमान मोहन शमशेरका भारदार थिए । सानोतिनो हाँसो भयो ।
यत्तिकैमा मोहन शमशेरको आँखा बखानसिंह गुरुङमाथि प¥यो । उनी लगभग आत्तिएजस्तो शैलीमा भकभकाउन थाले । त्यसताका भकभकाउनु एकखाले ठूलो खान्दानको प्रतीक मानिन्थ्यो र सामान्य व्यक्तिहरू पनि भकभकाएको अभिनय गर्थे । राणाहरूमा त यो प्रचलन नै थियो । उनले भकभकाउँदै सोधे, ‘यो… यो… क्क्को हो ?’ किसुनजीले नम्र स्वरमा जवाफ दिनुभयो, ‘महाराज ! उहाँ बखानसिंह गुरुङ ।’ किसुनजीको बोली पूरा हुन नपाउँदै मोहन शमशेर पुनः कराए, ‘त्यो… त्यो… म्म मलाई थाहा छ । यो के छ भनेको ।’ किसुनजीले शान्त भावमा उत्तर दिनुभो, ‘उहाँ हाम्रो एमपी ।’ बखानसिंह त्यसबेला राष्ट्रिय सभाका सदस्य थिए । यो सुन्नेबित्तिकै त मोहन शमशेर अट्टहास शैलीमा गर्जिए, ‘धत्तेरिका ! धिक्कार !! यो पनि एमपी हुन्छ भनेर बुझेको भए त म प्रजातन्त्रको विरोधै गर्दैनथें नि !’ यति सब हुँदासम्म बखानसिंह गुरुङ पसिनाले निथ्रुक्क कालो नीलो भइसकेका थिए । मोहन शमशेरको यो अस्वाभाविक प्रतिक्रिया र गर्जन अनि ‘धिक्कार !’ले त सबै नै हतप्रभ भएका थिए । पछि गएर बुझ्दा थाहा भयो ( बखानसिंह गुरुङ कुनैबेला मोहन शमशेरका छाते (छाता ओढाउने चाकर) रहेछन् ।
यो आलेखको उद्देश्य कहीँ कतै बखानसिंह गुरुङको वा अन्य कसैको हेला वा अपमान गर्नु होइन । जीवनको उतराद्र्धमा बखानासिंहले जेजस्तो कर्म गरेको भए पनि दुई क्रान्तिकारी शहीदका पिता एवं आफैंमा पनि अथक योद्धा बखानसिंह मेरा लागि बखान बा नै हुन् र रहन्छन् । छातेबाट एमपी बन्नु त गर्वको विषय हो । त्यसै पनि शतप्रतिशत सही मानिस भेटिन्न ! बखान बा सम्झिन र सम्मानलायक पात्र हुन् ।
प्रश्नचाहिँ आज कति जना बलिदानी बखान बाहरू बरन्डामा चूपचाप बस्दै शरणमा आएकालाई सामान्य संरक्षण दिन नसक्ने लोभीपापी अवस्थामा पुगेका होलान् भन्ने हो । आजका शासकवर्ग र तिनका प्रवृत्ति अनि चप्पलसम्म लाउन नसक्ने हैसियतबाट गुचीको ब्याग, चस्मा र राडो घडीको परिधानमा पुगेको देख्दा कतिजना ‘महाराज’हरू अट्टहासका साथ गर्जंदै होलान्, ‘धिक्कार !’ राजधानी दैनिकमा खबर छ ।