ताप्लेजुङ गोल्डकपमा ७३ लाख आय

ताप्लेजुङ । ताप्लेजुङमा केही दिनअघि सम्पन्न ताप्लेजुङ गोल्डकप प्रतियोगिताको आय–व्यय सार्वजनिक गरिएको छ । गत भदौ १४ देखि २० गतेसम्म सदरमुकाम फुङलिङमा आयोजना भएको प्रतियोगिताको आय–व्यय बिहीबार सार्वजनिक गरिएको हो ।

आय–व्यय प्रस्तुत कार्यक्रममा जनाइए अनुसार प्रतियोगितामा ७३ लाख २४ हजार सात सय ८५ आय देखिएको छ । टिकट बिक्री, प्रतियोगिताका लागि विभिन्न व्यक्ति र सङ्घसंस्थाको सहयोगबाट उक्त रकम सङ्कलन भएको हो ।

खेलको टिकट बिक्रीबाट मात्र १८ लाख ७६ हजार छ सय आम्दानी भएको लाखेजात्रा खेल सञ्चालन समितिका कोषाध्यक्ष निरोज श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा करिब २३ लाख बढीको आम्दानी भएको छ । आयोजकका अनुसार केही रकम भने उठ्न बाँकी छ ।

प्रतियोगिता सम्पन्न गर्न ४९ लाख ८७ हजार एक सय ३७ खर्च भएको जनाइएको छ । सबैभन्दा धेरै खर्च खेलमैदानको स्तरोन्नतिमा भएको छ । खेलमैदान स्तरोन्नतिमा आठ लाख बढी खर्च भएको छ । प्रतियोगिता सम्पन्न गर्न जिल्लाका विभिन्न स्थानीय तहले समेत सहयोग गरेका छन् ।

प्रतियोगिता सम्पन्न गरेर बचत भएको रकम मुद्धतिमा राख्ने आयोजकले निर्णय गरेको छ । सबैको साथ र सहयोगले छोटो अवधिको तयारीमा सफलतापूर्वक प्रतियोगिता सम्पन्न गर्न सफल भएको भन्दै आयोजकका अध्यक्ष देवराज गुरुङले सहयोगी सबैप्रति आभारसहित धन्यवाद व्यक्त गरेका छन् । यसपटकको प्रतियोगिता व्यवस्थित भएको जिल्लावासीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *