साउदीस्थति महावाणिज्य दूतावासभित्रै ११ नेपाली अलपत्र

काठमाडाैँ । खाडी मुलुक जाने कामदारका लागि सरकारले ‘फ्री भिसा, फ्री टिकट’ लागू भएको बताइरहँदा लाखौं रकम तिरेर त्यहाँ पुगेका ११ नेपाली बिचल्लीमा परेका छन् । उनीहरू गत २२ साउनमा त्यहाँ पुगेका थिए ।

काठमाडौंको सुकेधारामा रहेको हलेसी ओभरसिज म्यानपावरलाई मोटो पैसा बुझाएर साउदी अरबमा रहेको एक होटलमा पठाएको र म्यानपावरले सम्झौता गरेअनुसारको काम र तलब नपाएपछि अलपत्र परेको पीडितले बताएका छन् । त्यहाँ होटलले मागेअनुसार म्यानपावरले कामदार नपठाउँदा आफूहरू अलपत्र परेको उनीहरूले बताए ।

‘हामी महावाणिज्य दूतावासमा आएर बसेको पनि २० दिन भइसक्यो, अहिलेसम्म पनि उद्धार हुने केही प्रक्रिया अगाडि बढेको थाहा छैन,’ कपिलवस्तुका इन्द्रजीत कोरीले भने, ‘दूतावासले तीन/चार महिना हामी केही गर्न सक्दैनौं भनेको छ, तिमीहरू आफैं म्यानपावरमा कुरा गर भनेको छ, हामी केही सहयोग हुन्छ भनेर दूतावास आएका हौं, दूतावासले म्यानपावरमा भन भन्छ, त्यसो भए दूतावास किन चाहियो ? हामी दूतावासभित्रै अलपत्र अवस्थामा छौं, खानाचाहिँ पाएका छौं, म्यानपावरले केही वास्ता गर्दैन, अब के गर्ने कहाँ जाने ?’

म्यानपावरले कम्पनीमा लागेको भिसाको पैसा तिरिदिए मात्र कम्पनीले एक्जिट भिसा दिने र त्यसपछि मात्रै आफूहरू नेपाल फर्कन पाउने कोरीले बताए । धेरै समय लाग्छ भनेर दूतावासले भन्ने गरेको उनीहरूको भनाइ रहेकाे फाेटाेसहितकाे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

म्यानपावर कम्पनीले राम्रो कमाइ हुने प्रलोभन दिएर आफूहरूसँग डेढ लाखदेखि २ लाख रुपैयाँसम्म असुली गरेर यहाँ पठाएको उनीहरूले बताए ।

होटलले मागेअनुसार म्यानपावरले हामीलाई यहाँ पठाएको पाइएन, हामीलाई क्लिनरका रूपमा यहाँ पठाएको हो, तर होटलमा क्लिनरको आवश्यकता नपरेको भन्दै कम्पनीले २२ दिनसम्म कोठामा थुनेर राख्यो त्यसपछि तिमीहरू हामीलाई चाहिँदैन भनेर सडकमा निकालिदिएपछि दूतावास आएका हौं ।’ दूतावासबाट पनि सहयोग नपाएको उनीहरूले सामूहिक दुखेसो पोखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *