काठमाडाैँ । नेपाल र भारतबीच विद्युत् आदान प्रदानका लागि उपलब्ध विभिन्न अन्तर्देशीय प्रसारण लाइनको प्रयोगका विषयमा सहमति भएको छ । भारतको नयाँ दिल्लीमा सम्पन्न नेपाल भारत ऊर्जा अधिकारीहरू सम्मिलित प्राविधिक टोली (जेटिटी) को १४ औँ संयुक्त बैठकमा यस्तो सहमति जुटेको हो ।
बैठकमा सहभागी ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीपकुमार देवका अनुसार विभिन्न प्रसारण लाइनहरूको सहप्रयोगसम्बन्धी आठ बुँदामा सहमति भएको छ । सहमति अनुसार नेपाल–भारत विद्युत् व्यापारको महत्वपूर्ण पूर्वाधार ढल्केबर– मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनबाट अब आठ सय मेगावाटभन्दा धेरै विद्युत् निर्यात गर्न सकिने छ ।
दुई देशबिचको सहमति अनुसार हालसम्म आठ सय मेगावाट मात्रै विद्युत् निर्यात गर्न सकिने अवस्था थियो । अब निर्माण सम्पन्न हुनै लागेको हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन तयार भएपछि ढल्केबर मुजफ्फरपुर प्रसारण लाइनबाट थप विद्युत् आदान प्रदान हुने छ ।
सतलज जलविद्युत् निगमले अरुण तेस्रो जलविद्युत् आयोजनाको बिजुली भारत लैजान बनाइरहेको ढल्केबर सीतामढी प्रसारण लाइनमा पनि नेपाल विद्युत् प्राधिकरणले थप विद्युत् निर्यात गर्न पाउने सहमति जुटेको छ ।
यसले भविष्यमा ढल्केबर मुजफ्फरपुर प्रसारण लाइन क्षमता पूर्ण भएका अवस्थामा पनि एसजेभिएनले बनाइरहेको ढल्केबर सीतामढी ४०० केभीसमेत निर्यात उपयोगमा लिन पाइने छ । यो प्रसारण लाइन अब आयात निर्यात दुवै उद्देश्यमा प्रयोग हुने छ ।
न्यु नौतुनवा–मनहिया १३२ केभी प्रसारण लाइन पनि आगामी अक्टोबरमै सञ्चालनमा ल्याउने सहमति भएको देवले जानकारी दिनुभयो । त्यस्तै १३२ केभी क्षमताकै कोहलपुर नानपारा प्रसारण लाइन पनि विद्युत् आयात निर्यात सुविधा उपलब्ध हुने गरी चालु आर्थिक वर्षभित्रै सञ्चालनमा ल्याउने सहमति भएको छ ।
नेपालभित्रको विद्युत् आपूर्तिलाई दिगो बनाउनुका अतिरिक्त अन्तर्देशीय विद्युत् व्यापारलाई सहज बनाउन महत्वपूर्ण मानिएको पूर्व–पश्चिम विद्युत् ४०० सय केभी प्रसारण लाइन पनि छिटो निर्माण सम्पन्न गर्न दुवै देशले सक्रियता देखाउने सहमति भएको समाचार गाेरखापत्रमा छापिएकाे छ ।
