काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले शिक्षकहरुले उठाएका कतिपय बिषयहरु जायज भएकाले त्यसलाई सरकारले सम्बोधन गर्नुपर्ने बताएका छन् । बुधबार सामाजिक संजालमार्फत सचिव भट्टराईले सरकारले शिक्षकका माग सम्बोधन नगरे संसद रहेको बताएका हुन् ।
उनले भनेका छन्, ‘शिक्षा विधेयकले विद्यालय शिक्षामा देखिएका तमाम विकृति र विसंगतिलाई अन्त्य गर्दै सर्बसुलभ र गुणस्तरीय शिक्षामा राज्यको भूमिकालाई बढाउनु पर्दछ । श्रमप्रति आस्था र राष्ट्रियताप्रति गर्ब गर्ने नागरिक निर्माणमा शिक्षा प्रणालीलाई केन्द्रित गर्नु पर्दछ । शिक्षाका तीन पक्ष विद्यार्थी, शिक्षक र अभिभावक बीचमा लक्ष, गन्तव्य र कार्यमा एकरूपता हुनुपर्दछ । शिक्षाको नीतिगत र संरचनागत सुधार र रुपान्तरण आजको आवश्यकता हो, यसमा सबै पक्षका बीचमा सहमति हुनैपर्छ । संसदमा दर्ता भएको शिक्षा विधेयकलाई यसै आधारमा छलफल गर्नु पर्दछ । विधेयक निर्माण गर्दा सरकारले सरोकारवालासँग प्रयाप्त छलफल र समन्वय नगर्दा र पारदर्शी नहुँदा आजको समस्या उत्पन्न भएको छ । शिक्षकहरुले उठाएका कतिपय बिषयहरु जायज छन् त्यसलाई सरकारले सम्बोधन गर्नुपर्दछ । सरकारले गरेन भने संसद छ । शिक्षकहरुलाई जिम्मेवार बनाउनुका साथै उनिहरूको आत्मसम्मानमा ध्यान दिनुपर्दछ । शिक्षकहरुलाई विश्वासमा लिएर सडकबाट कक्षा कोठामा फर्काउन सरकारले ठोस पहल गर्नुपर्दछ । सबै मिलेर सार्वजनिक शिक्षालाई तहस नहस हुनबाट जोगाऔं ।’
