काठमाडौं । शनिबार राति काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले संघीय सरकारविरुद्ध आक्रोश पोख्दै एउटा स्टाटस लेखे । उनले सिंहदरबारमा आगो लगाइदिने धम्की दिए । उनले सामाजिक संजालमा यस्तो लेखेका छन्, ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’ बालेनले यस्तो लेखेपछि सामाजिक संजालमा उनको पक्ष र विपक्षमा थुप्रै बहस भए । कसैले उनको समर्थन गरे त कसैले विरोध । किन मेयरले राति यस्तो लेखे भनेर धेरैलाई कौतुहलता थियो । तर आइतबार बिहान थाहा भयो कि बालेनकी पत्नी सवार गाडी ट्राफिक प्रहरीले रोकेर सोधपुछ गरेको निहुँमा मेयरको यस्तो आक्रोश पोखिएको रहेछ । शनिबारको दिन सरकारी गाडी चलाएको भनेर प्रहरीले सोधपुछ गरेको रहेछ । मुलुकको प्रमुख प्रशासकीय निकायमाथि धावा बोलेर यस्तो स्टाटस अरु कसैले लेखेको भए प्रहरीले राति नै पक्राउ गरिसक्थ्यो । तर बालेनले छुट पाएका छन् । किनकी उनी काठमाडौंका मेयर हुन् । मेयर र सर्वसाधारणलाई छुट्टै कानुन छ नि !
बालेनेको भद्दा मजाक यो नै पहिलो पटक भने होइन । गतवर्षको भदौमा काठमाडौं महानगरपालिकाले नर्भिक अस्पतालको संरचना भत्काउने भएपछि त्यसलाई रोक्न अस्पताल प्रशासन अदालत गयो । अदालतले संरचना नभत्काउन आदेश दियो । त्यसपछि बालेनले ‘अब नक्सा पासको कामपनि सर्वोच्च अदालतलाई गर्न दिए हुने’ भनी सामाजिक संजालमार्फत प्रतिक्रिया दिए । अदालतको अवहेलना गरेको भन्दै उनीविरुद्ध सर्वोच्चमा मुद्दा परेको छ । उनी यो मुद्दा खेपिरहेका छन् ।
बालेनले भारतीय फिल्म ‘आदिपुरुष’मा भएको ‘जानकी भारतकी छोरी’ भन्ने संवाद भारतमा समेत नहटाए काठमाडौंमा हिन्दी फिल्म चल्न नदिने चेतावनी दिएका थिए । सबै हिन्दी फिल्म चलाउन नदिने भएपछि हल संचालकहरु अदालत गए । अदालतले फिल्म संचालनमा रोक नलगाउन आदेश दियो । तर उनले उच्च अदालत पाटनले दिएको आदेशलाई पनि चुनौती दिए । अदालतको आदेशपछि उनले सामाजिक संजालमा लेखे, ‘“जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ, म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारतको अधीनमा थियो भनिसकेपछि उनीहरूको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधीनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ । यसको लागि जुनसुकै सजाय भोग्न तयार छु, तर फिल्म चल्दैन र चल्न दिइने छैन ।’
यसमा पनि बालेनविरुद्ध अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरेकी छन् । यसको पनि बालेन तारेख धाइरहेका छन् । अदालतको अवहेलना गरेको ठहर भए एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्छ । बालेनको अराजकता यतिमा मात्र सीमित छैन । उनले बेलाबेलामा संघीय सरकार, प्रधानमन्त्री, सांसदहरु कसैलाई बाँकी राखेका छैनन् । एक दिन उनले सामाजिक संजालमा लेखे, ‘हामीलाई प्रचण्डज्यूभन्दा प्रचण्डज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरु माथि शंका लाग्यो । दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ सरकारमा । भारतीय गुलामहरुले देश चलाउँदैछ र म मात्र विरोधमा ? र, म मात्र अदालतको अवहेलनामा ? सबैजना मरेका लाशहरु हुन् ?’
काठमाडौंको सिनामंगलस्थित नागरिक उड्डयन प्राधिकरणको भवन नक्सा पास नगरी बनाएको भन्दै महानगरपालिकाले गत जेठमा काम रोक्यो र नगर प्रहरीको टोलीले फेन्सिङ तारबार पनि काटिदिएको थियो । त्यसविरुद्ध प्राधिकरणले बालेनलाई स्पष्टीकरण सोध्यो । त्यसपछि स्पष्टीकरण रोक्न उच्च अदालत गए । तर उच्च अदालतले बालेनको रिट खारेज गरिदियो । त्यससँगै बालेनले नागरिक उड्डयन प्राधिकरणमा स्पष्टीकरण दिनुपर्ने भएको छ। स्पष्टीकरण नदिएमा नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २५ को व्यवस्थाअनुसार ५० हजार रूपैयाँसम्म जरिवाना गराउने सक्ने व्यवस्था छ ।
महानगरभित्रका अवैध संरचना हटाउन, सार्वजनिक जग्गा आफू मातहत ल्याएर बालेनले सुरुमा राम्रो सन्देश दिन खोजेका थिए । तर पछिल्ला गतिविधिले उनी विवादमा तानिएका छन् । हुँदाहुँदा अहिले त दलका नेतालाई लाग्ने परिवारवादले उनलाई पनि छाडेन । प्रहरीले आफ्नो ड्युटी ठिकसँग गरेका हुन् । जोसुकै होस् सार्वजनिक बिदाका दिन बिनापास निजी कामका लागि जनताको करबाट किनिएको सरकारी सवारी साधन जसले चढेको होस् रोक्नै पर्छ र नियन्त्रणमा लिनैपर्छ। मुलुकमा कानुन पालन गराउनेहरूमा दण्डहीनता र अराजकता अचाक्ली बढेको छ र यो उच्चपदस्थहरूबाटै हुनेगर्छ । तर अरूको गल्ती देखाएर आफ्नो गल्ती छोपिन्न । यस्ता काम उच्चतहबाट कदापी हुनु हुँदैन । केही महिना अगाडि बेलायतका प्रधानमन्त्री ऋषि सुनकले एकैछिन गाडीमा सिटबेल्ट नबाँध्दा जनता र प्रहरीसँग क्षमायाचना गर्दै ५० पाउण्ड जरिवाना तिर्न परेको थियो । आफ्नो निजी काममा बिदाको दिनमा परिवारसँग सरकारी गाडीमा चढेर घुम्न जाने अनि कता हो जाने भनेर सोध्दा आगो लगाउँछु रे ! यही हो त मेयरको हेसियत ?