हालान्डको ह्याट्रिकमा सिटीको शानदार जीत

एजेन्सी । युवा फरवार्ड इर्लिंङ ब्राउट हालान्डले ह्याट्रिक पूरा गरेपछि म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा शानदार जीत निकालेको छ ।  शनिबार राति भएको खेलमा सिटीले फुल्हामलाई ५-१ गोलले हराएको हो ।

घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा सिटीलाई जीत दिलाउन हालान्डले ह्याट्रिक पूरा गर्दा जुलियन अल्भारेज र नाथन एकेले समान एक-एक गोल गरे । फुल्हामको लागि टिम रेअमले एक गोल गरे । खेलको ३१ औं मिनेटमा हालान्डको पासमा अल्भारेजले गोल गर्दै सिटीलाई शुरुवाती अग्रता दिलाएका थिए । ३३ औं मिनेटमा टिमले गोल गर्दै फुल्हामलाई १-१ गोलको बराबरीमा ल्याए ।

पहिलो हाफको इन्जुरी समयमा फोडेनको पासमा एकेले गोल गर्दै सिटीलाई २-१ गोलको अग्रता दिलाएका थिए । ५८ औं मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई फराकिलो जीततर्फ अगाडि बढाए । ७० औं मिनेटमा हालान्डले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ४-१ गोलको अग्रता दिलाए ।

यस्तै दोस्रो हाफको इन्जुरी समयको पाँचौं मिनेटमा गोमेजको पासमा हालान्डले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेर सिटीलाई ५-१ गोलको जीत दिलाएका हुन् । जीतसँगै ४ खेलबाट १२ अंक जोड्दै लिगको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट ४ अंक जोडेको फुल्हाम १३ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *