एजेन्सी । एसीसी एसिया कप अन्तर्गत भएको बहुप्रतिक्षित खेलमा वर्षा बाधक बन्दा भारत र पाकिस्तानले अंक बाढेका छन् । शनिबार दिउँसो भएको खेलमा वर्षा भएसँगै दोस्रो इनिंस हुन नसकेपछि दुवै टोलीले एक-एक बाढेका छन् ।
पाल्लेके अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको भारत ४८.५ ओभरमा अलआउट हुँदा २ सय ६६ रन जोडेको थियो । एक समय ६६-५ को दयनीय अवस्थामा रहेको भारतको लागि हार्दिक पान्ड्य र इसान किसानले १ सय ३८ रनको साझेदारी गर्दै टोलीलाई सम्मानजनक स्कोरमा पुर्याएका हुन् । हार्दिकले ९० बलमा ७ चौका र एक छक्काको मद्दतमा ८७ रन बनाउँदा इशानले ८१ बलमा ९ चौका र दुई छक्काको सहयोगमा ८२ रन बनाएका थिए । यस्तै जस्प्रित बुम्राले १६ , श्रेयस आयर र रविन्द्र जडेजाले समान १४-१४ रन बनाउंदा रोहित शर्माले ११ र शुभ्मन गिलले १० रनको योगदान गरेका थिए ।
पाकिस्तानको लागि शाहिन शाह अफ्रिदीले १० ओभरमा २ मेडन राख्दै ३५ रन दिएर ४ विकेट लिंदा नसिम शाह र हारिस राउफले समान ३-३ विकेट लिए ।
यससँगै पाकिस्तान दुई खेलबाट ३ अंक जोड्दै अन्तिम चारमा पुगेको छ । एक खेल कम खेलेको भारतको एक अंक रहेको छ । सोहि समूहमा रहेको नेपाल अंकविहिन छ । अब भारत र नेपालबीच सोमबार हुने खेलको विजेता अन्तिम चारमा प्रवेश गर्नेछ ।