काठमाडौं । १६ औं संस्करणको एसीसी एसिया कपमा आज चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्दैछन् । पाल्लेकेले अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हुने खेल दिउँसो ३:१५ बजे शुरु हुनेछ ।
भारतले आज चिरप्रतिद्वन्द्वी पाकिस्तानसँग खेल्दै एसिया कपको शुरुवात गर्दैछ । दुई टोलीबीचको खेललाई क्रिकेटको युद्धको रुपमा हेरिदै आएको छ । यसअघिनै भारतले पाकिस्तान जान अस्वीकार गरेपछि एसिया पाकिस्तान र श्रीलंकामा आयोजना गरिएको थियो । भारतले एसियाको सम्पूर्ण खेल श्रीलंकामा खेल्नेछ । त्यसैले आजको खेल प्रतिस्पर्धात्मक र रोमान्चक हुनेमा कुनै शंका छैन ।
यसअघि दुई टोली सन् २०१९ को विश्वकपमा भिडेका थिए । उक्त खेलमा भारतले बाजी मारेको थियो । विगतदेखिनै पाकिस्तानका बलर र भारतका ब्याट्सम्यानबीच कडा टक्कर रहँदै आएको छ । यसपटकपनि पाकिस्तानका शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस राउफले भारतका शीर्ष क्रममा ब्याट्सम्यान रोहित शर्मा, शुभमन गिल र विराट कोहलीको परीक्षण गर्नेछन् ।
भारततर्फ भखर चोटबाट फर्किएका जस्प्रित बुम्रा र मोहम्मद सिराजले बलिंङको नेतृत्व गर्नेछन् । उनीहरुलाई उच्च लयमा रहेका बाबर अजामलाई सस्तैमा रोक्न चुनौती रहेको छ । बाबरले नेपालविरुद्ध भएको पहिलो खेलमा १ सय ५१ रन बनाएका थिए । उक्त खेलमा पाकिस्तान विजयी बहेको थियो । पछिल्लो ५ खेलमा भारतले चार खेल जित्दा पाकिस्तानले जम्मा एक खेल आफ्नो पक्षमा पार्न सकेको छ ।