बाबर र इफ्तिखरको विस्फोटक ब्याटिङमा नेपाललाई विशाल विजयी लक्ष्य

काठमाडौं । कप्तान बाबर अजाम र इफ्तिखर अहमेदले विस्फोटक ब्याटिङ गर्दै सतक पूरा गरेपछि पाकिस्तानले एसीसी एसिया कपको उद्धाटन खेलमा नेपाललाई विशाल विजयी लक्ष्य प्रस्तुत गरेको छ । मुल्तान क्रिकेट स्टेडियममा जारी खेलमा पाकिस्तानले नेपाललाई जीतको लागि ३ सय ४३ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ४२ रन बनाएको हो । पाकिस्तानको लागि बाबर अजाम र अफ्तिखर अहमेदले सतक पूरा गरेका हुन् । बाबरले १ सय ३१ बलमा १४ चौका र ४ छक्काको मद्दतमा १ सय ५१ रन बनाएका हुन् । इफ्तिखरले ७१ बलमा १ सय ९ रन बनाए । उनले ११ चौका र ४ छक्का प्रहार गरेका हुन् । यसअघि मोहम्मद रिजवानले ५० बलमा ६ चौकाको मद्दतमा ४४ रन बनाउँदा फखर जमानले १४ रनको योगदान गरेका थिए ।

नेपालको लागि सोमपाल कामीले १० ओभरमा एक मेडन राख्दै ८५ रन दिएर दुई विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा ६९ रन खर्चिंदै एक विकेट लिंदा करण केसीले ९ ओभरमा ५४ रन दिँदै एक विकेट लिए । दोस्रो इनिंस केहीबेरमा शुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *