यस्तो छ राष्ट्रिय गौरवका आयोजनाको प्रगति विवरण

काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाको प्रगति विवरण निरासाजनक देखिएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद ऋषिकेष पोखरेलले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको विवरण हेर्दा निरासाजनक देखिएको हो ।

प्रधानमन्त्रीले राष्ट्रिय गौरवका आयोजनामध्ये २ वटा सम्पन्न भएका १४ वटाको प्रगति ८० प्रतिशत भन्दा माथि रहेको, ५ वटाको प्रगति ५० देखि ८० प्रतिशतसम्म रहेको र २ वटाको प्रगति ५० प्रतिशत रहेको जानकारी दिएका छन् ।

प्रधानमन्त्रीका अनुसार लुम्बिनी विकास गुरुयोजनाको हालसम्मको भौतिक प्रगति ८८ प्रतिशत र वित्तीय प्रगति ६०.३४ प्रतिशत रहेको छ । पशुपति क्षेत्र विकास कोष आयोजनाको भौतिक प्रगति ६६ प्रतिशत भई समष्टिगत वित्तीय प्रगति ६५.७३ प्रतिशत रहेको छ ।

त्यस्तै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको प्रारम्भिक चरणको कार्यहरू मात्र भइरहेको र लगानी एवं निर्माणको उपयुक्त मोडालिटी भए पश्चात विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाइने र यस आयोजनाको लागि चालू आर्थिक वर्षमा ३५ करोड विनियोजन भएको छ ।

सञ्चालनमा रहेका अन्य राष्ट्रिय गौरवका आयोजनाहरूलाई यथाशीघ्र सम्पन्न गर्न सरकारले जोड दिदैँ आएको प्रधानमन्त्रीले बताए । हुलाकी राजमार्गका सम्बन्धमा चितवन र पर्सामा राष्ट्रिय निकुञ्ज क्षेत्रमा डिपिआर तयार लगायतका कार्यमा भएको ढिलाइका कारण यो आयोजनाको कार्य आगामी ३ वर्षभित्र सम्पन्न गर्ने नयाँ लक्ष्य निर्धारण गरिएको प्रधानमन्त्रीले  जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *