ग्लोबल टाइम्स । चीनले भारतको अरुणाचल प्रदेशलाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेको छ । चीनको प्राकृतिक संसाधन मन्त्रालयले सोमबार अरुणाचल र अक्साई चीनलाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेको हो ।
ग्लोबल टाइम्सका अनुसार उक्त नक्सालाई ‘२०२३ को चीनको स्टान्डर्ड नक्सा’ भनिएको छ । ग्लोबल टाइम्स्ले लेखेको छ, ‘चीनको २०२३ को स्टान्डर्ड नक्सा सोमबार सार्वजनिक भएको छ । यो नक्सा प्राकृतिक संसाधन मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको हो । यो नक्सा चीन र विश्वका अन्य देशको राष्ट्रिय सीमा रेखाङ्कन विधिको आधारमा तयार गरिएको हो ।’
केही दिनअघि ब्रिक्स सम्मेलनका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिन्पिङबीच भेटवार्ता भएको पृष्ठभूमिमा यो नक्सा जारी गरिएको हो। दुवै देशका नेताबीच सीमा विवादबारे समेत कुराकानी भएको थियो ।
यसअघि सन् २०२३ को एप्रिलमा चीनको नागरिक मामिला मन्त्रालयले अरुणाचल प्रदेशका ११ स्थानको नाम परिवर्तन गर्न अनुमोदन गरेको थियो।
चीनले अरुणाचल प्रदेशको ९० हजार वर्ग किलोमिटर भूभाग दाबी गर्दै आएको छ भने भारतले पश्चिममा रहेको अक्साई चीनको ३८ हजार वर्ग किलोमिटर भूभाग चीनले अवैधरूपमा कब्जा गरेको दाबी गरेको छ। सीमामा उत्पन्न तनावका कारण तीन वर्षदेखि भारत र चीनबीच सम्बन्ध चिसिएको छ।