इराकमा तीनसय भन्दाबढीको ज्यान जाने गरी भएको विस्फोटमा संलग्न तीन जनालाई फाँसी

इराकको राजधानी बग्दादमा सन् २०१६ मा तीनसय भन्दाबढीको ज्यान जाने गरी भएको सवारी बम विस्फोटमा संलग्न भएको आरोपमा तीन जनालाई फाँसी दिइएको छ ।

सन् २००३ मा अमेरिकी नेतृत्वमा भएको आक्रमणपछि इराकमा भएको यो अहिलेसम्मकै सबैभन्दा घातक बम आक्रमण हो । द इस्लामिक स्टेट ग्रुप (आइएस) ले उक्त आक्रमण आफूले गरेको जानकारी दिएको छ ।

प्रधानमन्त्री मोहम्मद शिया अल सुडानीको कार्यालयले मृत्युदण्ड दिइएकाहरूको नाम र उनीहरूलाई कहिले–कहिले सजाय दिइएको हो भन्नेबारे उल्लेख गरेको छैन। यद्यपि उनीहरूलाई आइतवार र सोमबार मृत्युदण्ड दिइएको विवरणहरू सार्वजनिक भएका छन् ।

एक सरकारी स्रोतले दिएको जानकारीअनुसार आक्रमणका मुख्य योजनाकार मानिएका गजवान अल–जावबाईलाई मृत्युदण्ड दिइएको छ। जावबाईलाई सन् २०२१ मा अन्यत्रबाट पक्राउ गरी इराक फर्काइएको थियो ।

सन् २०१६ को ३ जुलाईमा इराकी राजधानीस्थित शिया मुस्लिम बहुल क्षेत्र कर्राडामा उक्त घटना भएको हो। त्यहाँ रहेको एक शपिङ सेन्टर भिडभाड भएको स्थितिमा नजिकै रहेको विस्फोटक पदार्थले भरिएको एउटा गाडी विस्फोट गराइएको थियो ।

इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानअन्तर्गत दैनिक रोजा तोडेपछि मानिसहरू रात्रिकालीन बजारमा रमाइरहेका थिए । बम विस्फोटपछि भवनमा आगलागी भएको थियो र त्यहाँ रहेका धेरै मानिसको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *