काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकमा अध्यक्ष माधव कुमार नेपालले आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।
काठमाडौंमा मंगलबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष नेपालले आफ्नो ४० पृष्ठ लामो प्रतिवेदन पेश गर्दै एमालेसँग विद्रोह गर्नुको औचित्य पुष्टि गरेको उल्लेख गरेका छन् ।
यसैगरी पार्टीको सैद्धान्तिक वैचारिक दृष्टिकोण, समाजवादी कार्यक्रम र कार्यदिशाबारे उल्लेख गर्दै नेपालले ७ कारणले आफ्नो पार्टी एमाले भन्दा फरक रहेको र विद्रोहको औचित्य पुष्टि गर्ने प्रयास गरेका छन् । अध्यक्ष नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको छवि राम्रो बनेकोसमेत बताएका छन् ।
भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा उभिएकाले सरकारको छवि राम्रो बनेको बताएका हुन् । उनले ललितानिवासको सरकारी जग्गा हिनामिना, नक्कली भुटानी शरणार्थी र सुन तस्करी प्रकरणमा सरकारले देखाएको तदारुकता प्रशंसनीय भएको बताए ।
प्रतिवेदनमा नेपालले भनेका छन्, ‘भ्रष्टाचारविरुद्धको पहलकदमीले सरकारको छवि राम्रो बनेको छ । नक्कली भुटानी शरणार्थी, ललितानिवास, सुन तस्करीजस्ता घटनामा सरकारको तदारुकता प्रशंसनीय छ ।’
अध्यक्ष नेपालले मिटरब्याज पीडितहरूको पक्षमा ऐन बनाएर सरकारले कारबाही अघि बढाएको पनि बताएका छन् । उनले भनेका छन्, ‘भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा अझ बढी केन्द्रित हुँदै अर्थतन्त्रलाई फेरि सहज बनाउन गठबन्धनमा छलफल भएका छन् । पार्टीले सरकारलाई प्रभावकारी बनाउन आगामी दिनमा पनि ध्यान दिनुपर्छ ।’ अध्यक्ष नेपालले वर्तमान सरकार उपयुक्त दायित्व पूरा गर्न प्रयत्नशील रहेको बताएका छन् ।