प्रदीप गिरी बिपीपछिकै विद्वान समाजवादी चिन्तकः सभापति देउवा

पाटन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्व प्रदीप गिरी बिपी कोइरालापछिकै विद्वान समाजवादी चिन्तक भएको बताएका छन् ।
स्वर्गीय गिरिको पहिलो वार्षिकीका अवसरमा सोमबार नेपाली कांग्रेस केन्द्रीय समितिद्वारा सानेपामा आयोजित स्मरण सभामा मन्तव्य राख्दै उनले समाजवादी चिन्तकका रुपमा बिपीपछि कसैको नाम लिने हो भने गिरीकै नाम आउने बताए ।

“उहाँ धेरै ठूलो विद्वान हो, बिपीपछिको समाजवादी चिन्तक हो, उहाँका कृतिहरु छन् भने प्रकाशन गर्नुपर्छ, पार्टीले पनि सहयोग गर्नेछ, उहाँ कहिल्यै नथाक्ने व्यक्तिका रुपमा लिएको छु, उहाँका लेख, कृतिहरु पार्टीले प्रकाशित गर्नुपर्छ, त्यसबाट हाम्रो सिङ्गो पार्टी लाभान्वित हुनेछ”, सभापति देउवाले भने ।

उनले गिरी अत्यन्तै विद्वान व्यक्ति भएको र उहाँले धेरै किताब लेखेर वौद्धिक विचार दिएको बताए । उनले स्वर्गीय गिरि खुब पढ्ने र लेख्ने व्यक्ति भएको धारणा राखे ।

महामन्त्री गगनकुमार थापाले गिरी इतिहासको चेत भएको बौद्धिक नेताहरुमध्येको एक भएको बताए। “प्रदीप दाइले हामीलाई इतिहासको चेत भएन भने वर्तमानलाई बुझ्न सकिँदैन भन्ने कुरा सिकाउनु भो, इतिहास पढेर मात्रै हुँदैन, इतिहास बुझ्नका लागि त्यो बेलाको समाज बुझ्नुपर्छ, आर्थिक अवस्था बुझ्नुपर्छ, वर्तमानको समस्या समाधानका लागि इतिहास बुझ्नुपर्छ, इतिहासको चेत भएन भने राजनीतिलाई बुझ्न सकिँदैन”, उनले भने, “प्रदीप दाइ हामीलाई हात समातेर अगाडि बढाउने व्यक्ति हुनुहुन्थ्यो, उहाँका कुरा सुन्दा पाँच÷छ घण्टा बितेको पत्तै हुदैनथ्यो, उहाँले धेरै कुरा लेख्नुभएको छ, त्यसलाई एक ठाउँमा ल्याएर हेर्ने र त्यसलाई सम्बोधन गर्ने काम हुनेछ, हामी काम गर्नेछौं । ”

महामन्त्री थापाले स्वर्गीय गिरि नाशवान पुँजीवादका बारेमा व्याख्या गर्ने व्यक्तित्व मात्रै नभइ नेपाली कांग्रेसले लिएका कैयौँ नीतिहरुमा समेत असहमति राख्ने नेता हुनुहुन्थ्यो भन्ने धारणा राखे ।

गिरीकै सुझाव र समन्वयमा ‘पब्लिक पोलिसी’ पाठशाला सुरु गरेर वैचारिक अभियान चलाउने प्रयास भएको उल्लेख गर्दै उनले नेताहरुको संस्मरण धेरै प्रकाशन भएको तर ऐतिहासिक दस्तावेज कम प्रकाशन भएको बताए ।
स्वर्गीय गिरिका धर्मपत्नी भारती सिलवालले गिरीको निधनले प्रजातान्त्रिक समाजवादी आन्दोलनमा ह्रास आएको बताइन् । स्वर्गीय गिरीले बेलाबेलामा नेपाली कांग्रेसले आफूले अपनाएको नीतिलाई परिवर्तन गर्न आवश्यक भन्दै आफ्ना धारणा र असहमतिसमेत व्यक्त गर्ने गरेको स्मरण गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *