विराटनगर । कोशी प्रदेशमा मुख्यमन्त्री उद्धव थापाले विश्वास मत लिनुअघि उपसभामुख सिर्जन दनुवार बैठक छल्न काठमाडौं लागेकी छन् । उपसभामुख दनुवार आज बिहान काठमाडौं लागेपछि कार्यव्वस्था परामर्श समितिको बैठक अनिश्चय भएको हो । मुख्यमन्त्री थापाले विश्वासको मत लिन सूचना दर्ता गराएपछि उपसभामुख दनुवारले आजका लागि बैठक बोलाएकी थिइन् ।
तर, उनी आज बिहान हवाई मार्गबाट काठमाडौंतर्फ लागेकी हुन् । प्रदेशसभाको बैठक आज दिउँसो एक बजेका लागि बोलाइएको छ । सत्ता गठबन्धनबाट मुख्यमन्त्री बनेका थापालाई विपक्षीहरूको रणनीतिले विश्वासको मत प्राप्त गर्न समस्या देखिएको छ । प्रदेशसभाको अध्यक्षता कसले गर्ने भन्नेमा अहिलेसम्म पनि अन्यौल रहेको छ ।
सभामुख बाबुराम गौतमले राजीनामा दिएर सरकार गठनमा सहयोग गरेका कारण उपसभामुखले सभा सञ्चालन गर्नुपर्ने हो तर उपसभामुख दनुवार बैठकमा अनुपस्थित हुने भएपछि थप अन्यौल छाएको छ । उपसभामुख अनुपस्थित भए जेष्ठ सदस्यले सभा सञ्चालन गर्ने व्यवस्था भए पनि एमाले र राप्रपाका आठ जना ज्येष्ठ सदस्य बिदामा बसेका छन् ।
यसो हुँदा अब सत्ता पक्षकै सांसदले सभाको अध्यक्षता गर्नुपर्ने हुन सक्छ । त्यस्तो अवस्थामा प्रदेश सरकारले विश्वासको मत पाउन सक्दैन । विश्वासको मत पाउन ४७ सांसदले पक्षमा मतदान गर्नुपर्छ तर प्रदेशसभाको अध्यक्षता सत्ता पक्षले गर्ने हो भने ४६ जनाको मात्रै पक्षमा मतदान हुने छ । ४६ जना सांसदले पक्षमा मतदान गरे पनि सरकारले विश्वासको मत पाउँदैन । सरकारले विश्वासको मत नपाए ठूलो दलको हैसियतमा एमालेले सरकार बनाउने मौका पाउने छ ।