डेनमार्क र नेदरल्याण्ड्सले अमेरिकानिर्मित एफ–१६ लडाकू विमान कीएभमा स्थानान्तरण गर्न वासिङ्टनले स्वीकृति दिएको दुई दिनपछि युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की आइतबार दक्षिणी डेनमार्कस्थित वायु सेनाको एउटा आधारशिविरमा अवतरण गरेका छन् ।
नेदरल्यान्ड्सका प्रधानमन्त्री मार्क रूटले विमान हस्तान्तरण गर्ने बिषयमा स्वीकृति दिएपछि जेलेन्स्की स्थानीय समयअनुसार अपराह्न ४ः३० बजे स्क्रिडस्ट्रप आइपुगेका हुन् ।
उनलाई डेनमार्कका प्रधानमन्त्री मेट फ्रेडरिकसन, विदेशमन्त्री लार्स लोक्के रासमुसेन र रक्षामन्त्री ज्याकोब एलेमान जेन्सेनले स्वागत गरेका थिए ।
डेनिस प्रधानमन्त्रीको कार्यालयले दिएको जानकारीअनुसार भ्रमणमा उनीहरूले एफ–१६ विमानको परीक्षण गर्ने साथै युक्रेनी पाइलट प्रशिक्षण सुरु गर्नेबारे छलफल गर्नेछन् ।
“डेनमार्कले युक्रेनलाई आवश्यकता अनुसार पूर्ण सहयोग र समर्थन गर्दछ,” फ्रेडरिकसनले जेलेन्स्कीको आगमन र आइतबार पछि संयुक्त पत्रकार सम्मेलनमा भने ।
जेलेन्स्कीले टेलिग्राम मेसेजिङ साइटमार्फत पठाएको एक सन्देशमा भने, “हामी युक्रेनी योद्धाहरूका लागि थप राम्रो समाचार तयार गर्दैछौं । एफ–१६ बिषयलाई अगाडि बढिरहेका छौं ।” उनले नेदरल्यान्ड्स र डेनमार्कले एफ–१६ विमान किभलाई हस्तान्तरण गर्ने निर्णयलाई ‘ऐतिहासिक’ भनेका छन् ।
डेनिस रक्षामन्त्रीले एक वक्तव्य जारी गर्दै आफ्नो देश र नेदरल्याण्ड्सले ‘रुसविरुद्ध युक्रेनको स्वतन्त्रताको लडाइँ र रूसको मूर्खतापूर्ण आक्रामकताका लागि’ लडाकु विमानदान गरेकोमा गर्व व्यक्त गरेका छन् ।
“युक्रेनका लागि डेनमार्कको समर्थन अटुट छ र एफ–१६ विमानको सहयोगले डेनमार्कले अगाडिको बाटो देखाइरहेको छ,” एलेमान–जेन्सेनले भने ।